३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

सबैको सहमतिमा अध्यादेश पारित हुन्छः एमाले महासचिव



मोरङ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीय संसद्मा सरकारले पेश गरेका सबै अध्यादेश राजनीतिक दलहरूसँगको सहमतिमै पारित हुने बताएका छन् ।

मुख्यतः देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएको चर्चा गर्दै उनले सबैको सहमतिमै अध्यादेशहरू पारित हुने बताएका हुन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले सदनको बैठक नबसेको अवस्था भएकाले बाध्यतावश सरकारले अध्यादेश ल्याएको जिकिर गरे ।

‘मुलुकको अर्थतन्त्रमा उत्पन्न समस्या समाधान गर्न केही कानुनी जटिलता फुकाउनै पर्ने थियो । यस्तै, अन्य राष्ट्रिय विषयहरूलाई पनि सम्बोधन गर्नै पर्ने बाध्यता थियो । तर, सदन चलेको थिएन,’ उनले भने, ‘त्यसैले बाध्यतावश सरकारले अध्यादेश ल्याएको हो । समृद्धि सबैको चाहना भएकाले अब सबैको सहमतिमा ती अध्यादेश सदनबाट पारित हुन्छन् ।’
महासचिव पोखरेलले अध्यादेश पारित गर्ने विषयमा सरकारले गम्भीर छलफल गरिरहेको पनि बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१ शनिबार ००:००  ५ : ४० बजे