३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

कपिलवस्तु प्रशासनद्धारा बजार अनुगमनः अखाद्य वस्तु नष्ट, पसललाई जरिवाना !



दीपा महत, बुद्धभूमि ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गरेको अनुगमनका क्रममा विभिन्न पसलबाट अखाध्य वस्तु नष्ट गरिएको छ ।
आइतबार सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेकोे नेतृत्वमा बहादुरगंज, चन्द्रौटा तथा गोरुसिंगेका विभिन्न पसलहरुमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा मिठाई पसलहरुले पत्रिकामा मिठाई बेचेकोे, अत्याधिक रंगको प्रयोग गर्नुका साथै पसलमा अत्याधिक फोहर भेटिएको घिमिरले बताए । जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको घिमिरेले बताए ।

सोहीक्रममा उपभोक्ताको स्वास्थ्यलाई असरपर्ने गरी सामग्री विक्रि गर्ने बहादुरगंजको पुजा मिष्ठान्न भण्डार तथा चन्द्रौटाको गौरव स्विटस हाउस र शिवलाल बन्जाडे किराना पसललाई १०-१० हजार जरिवाना तोकिएको छ ।
यसका साथै किचनको ब्यवस्थापन र सरसफाई गर्न, पसल दर्ता गर्न १५ दिनको अल्टिमेटम दिइएको छ । किराना पसलहरुबाट म्याद गुज्रेका पनि नष्ट गरिएको छ ।

अर्घाखाँची चोकका पसल अब्यवस्थीत

यता गोरुसिंगेको अर्घाखाँची चोकका पसलहरु अब्यस्थीत पाइएको छ । त्यहा ठेलामा संचालित नास्ता पसलमा सरसफाई नभएको, खुला रुपमा पकौडा, सेलरोटी, अण्डा लगाएत खाध्यवस्तु राखेको पाइएकाले ठेलामा फाइबरको सिसा लगाएर ब्यवस्थीत गर्न १५ दिनको समय दिइएको छ । १५ दिनभित्र ब्यवस्थीत तवरले पसल संचालन नगरे ठेलाहरु जफत गरिने सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले चेतावनी दिए । अहिले सबै पसलहरुलाई सम्झाएर छाडेको भन्दै अब पनि अटेरी गरे कारवाही गरिने बताए ।


स्वास्थ्यनै धन भएकाले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगर्न घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले आग्रह गरे । यसका साथै उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।

प्रकाशित मिति : २८ माघ २०८१ सोमबार ००:००  ४ : २६ बजे