२४ फाल्गुन २०८१, शनिबार | Sat Mar 8 2025

खुत्खुते सामुदायिक वनको साधारणसभा सम्पन्न



बाबुराम रायमाझी, भलवाड ।

वाणगंगा नगरपालिका ९, उत्तम नगर टोल भर्लाबासमा रहेको खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा समूहका सचिव खग प्रसाद बुढा मगरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। कोषाध्यक्ष बसन्ता रायमाझीले आर्थिक वर्ष २०८०-८१ को लागि कुल २ करोड ६५ लाख ९९ हजार रुपैयाँ बराबरको आम्दानी व्यय सार्वजनिक गरिन् ।

सामुदायिक बनका अध्यक्ष भीम बहादुर पुनले खुत्खुते सामुदायिक बनको आगामी नीति तथा कार्यक्रमबारे धारणा राख्दै बन संरक्षण, व्यवस्थापन र दिगो प्रयोगको महत्त्वलाई उजागर गरे। साथै, लेखा संयोजक शुशिला कार्की खत्रीले सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गरिन्।

साधारणसभाको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत बिपन्न परिवारका ९ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप पाठ्य सामग्री र स्कुले झोला वितरण गरिएको छ । यस कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने विश्वास गरिएको छ। साथै सामुदायिक बनले २२ जना एकल महिलालाई पनि दोसल्ला र नगदबाट सम्मानित गरेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सामुदायिक बन वाणगंगा नगरको अमूल्य सम्पत्ति भएको बताउँदै बन व्यवस्थापनमा पारदर्शिता आवश्यक रहेको उल्लेख गरे। उनले वनको सही सदुपयोग गर्दै संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वैज्ञानिक वन महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेनले सामुदायिक बनको मुख्य स्रोत वैज्ञानिक वन व्यवस्थापन भएकाले यसको सही संरक्षण तथा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन्। यसैगरी, वाणगंगा ९ को सामुदायिक बनको तर्फबाट कोटिहवा सामुदायिक वनका अध्यक्ष धुर्ब बेल्बासे पनि आफ्नो शुभकामना मन्तव्य राखे।

शुद्धोदन मावि, जिनुवा, कक्षा ११ की छात्रा अनिशा भाट क्षेत्रीले खुत्खुते सामुदायिक बनले समुदायमा पुर्‍याएको योगदानबारे कविता वाचन गरेकी थिइन्, जसले कार्यक्रममा विशेष रोचकता थपेको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष भीम बहादुर पुनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रम उपाध्यक्ष शकुन्तला आचार्यको स्वागत मन्तव्य र सचिव ख. प्रसाद बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो। वाणगंगा ९, भर्लाबासमा रहेको खुत्खुते सामुदायिक बन २५३.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसमा २०३ जना उपभोक्ता आबद्ध रहेका छन्।

१४औं वार्षिक साधारणसभाले खुत्खुते सामुदायिक बनको आर्थिक पारदर्शिता, वन संरक्षण, सामाजिक विकासमा योगदान तथा वैज्ञानिक वन व्यवस्थापनको आवश्यकता जस्ता विषयलाई उजागर गरेको छ। कार्यक्रममा नगरपालिकाका प्रमुख, वैज्ञानिक वन महासंघका अध्यक्ष, स्थानीय प्रतिनिधि तथा विद्यार्थीको सहभागिता थियो ।

प्रकाशित मिति : १९ माघ २०८१ शनिबार ००:००  ६ : १४ बजे