१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025

सानै उमेरमा विवाहः प्रेम हुँदै डिभोर्ससम्म



दीपा महत, कपिलवस्तु ।

कपिलवस्तु बुद्धभूमिकि भुमा (नाम परिर्वतित) ले १५ वर्षको उमेरमै भागी विवाह गरिन् । भुमा र उनको श्रीमानको फोनबाटै चिनजान भएको थियो । फोनमा बोल्नेक्रममा उनिहरु दुबैजनाले २०६८ सालमा भागी विवाह गरेका हुन् । कलिलै उमेरमा विवाह बन्धनमा बाधिएकी भुमाको बैबाहिक सम्बन्ध एक वर्ष त राम्रै थियो ।

फोनबाट चिनजान गरेर विवाह गरेपनि दुबैजनाले सम्बन्धलाई सुमधुर बनाउन सकेनन् । फलस्वरुप दुबैजनामा मन नमिले पछि दैनिक जसो झैझगडा हुन थाल्यो । विवाहको २ वर्षपछि भुमाको छोरी जन्मियो । भुमालाई श्रीमानले दैनिक जसो कुटपिट तथा गाली गलौच गर्न थाले । माइतीको इच्छा विपरित विवाह गरेकोले भुमाले यता माइतीलाईपनि केहि भन्न सकिनन्, ‘सकेजति सहेर बसे पछि अत्तिनै भएपछि माइत गएर बस्नुपर्यो ज्यान बचाउनका लागि पनि माइत जानुपर्यो उनले भनिन् ।’

अहिले भने भुमा वैदेशिक रोजगारका लागि खाडी मुलुक गएकी छन् । छोरीको भविष्यका लागि भएपनि आफुले यस्तो कदम चाल्नु परेको उनि बताउछिन् । अपरिपक्क उमेरमा गरेको निर्णयले जिन्दगी नर्क बन्ने भन्दै उनले अब छोरीहरु आर्थिक रुपमा सक्षम बन्नुपर्ने बताउछिन् ।

यस्तै सिन्धुपाल्चोककी सिचु (नाम परिर्वतित) पनि पढ्नको लागि भनेर पोखरा बसेकी थिइन् पढाईमा पनि अब्बल उनि कक्षा ८ मा पढ्दापढ्दै भागि विवाह गरेर कपिलवस्तु आईन् । सिचुले विवाह पछि पनि एक वर्ष त पढाईलाई निरन्तरता दिइन् । १ वर्षपछि छोरा जन्मियपछि भने उनलाई पढाई बीचमै छाड्नुपर्यो ।

पछि श्रीमानसंगको सम्बन्ध पनि राम्रो हुन सकेन् । उनि भन्छिन् ‘मेरो पढाई पनि राम्रो थियो स्कुलमा सधै प्रथम हुन्थे भाग्यको खेल के गर्नु सानै उमेरमा आफुखुसी विवाह गरे अहिले नत बैबाहिक सम्बन्ध राम्रो भयो नत पढाई । ’
‘जीवनमा जस्तोसुकै परिस्थती आएपनि भोग्नुको विकल्प नहुँदो रहेछ मेरो जिन्दगी त यस्तै भयो अब छोराको लागि भएपनि केहि गर्नु पर्छ बुबाआमाकै जिम्मेवारी मैले निभाउनु छ उनले भनिन्, छोराकै लागि आफु परदेशिनु परेको उनि सुनाउछिन् । ’ सिचु अहिले बैदेशिक रोजगारीका लागि पोर्चुगल छिन् । श्रीमानले अर्को विवाह गरेकाले अब नेपाल आएर डिभोर्स दिने उनले बताइन ।
बुद्धभूमिकै भूमि (नाम परिर्वतित) को कहानी पनि उस्तै छ उमेर नपुगी विवाह गरेकी उनको २ वर्ष त श्रीमानसंग सम्बन्ध राम्रो थियो । पछि छोरा जन्मिएपछि भने उनिहरुको बीचमा खटपट सुरुहुन थाल्यो र अन्तत सम्बन्ध विच्छेद भयो । आफुले जन्मदिएको छोरालाई समेत श्रीमानले भेट्न नदिएको उनको गुनासो छ । उमेर नपुग्दै विवाह गरेका उनिहरु अहिले विवाहको उमेरमा भने सम्बन्ध विच्छेद गर्न बाध्य छन् । मन मिलेर विवाह गरेपनि अहिले उनिहरुको सम्बन्ध बिच्छेद भएको छ ।

यता वाणगंगाकी सुश्री (नाम परिर्वतित) को भने घरपरिवारले १६ वर्षकै उमेरमा विवाह गरिदिए । राम्रो घर खान्दान आएको भन्दै परिवारलेनै विवाह गरिदिएएपनि सुश्री भने सानै उमेरमा विवाह भएकोमा खुसी छैनिन् । परिवारको बोली काट्न सकिन विवाह गरे तर आफुले सोचेजस्तो केहि भएन् निराश हुदै उनि भन्छिन् । आर्थिक अभावकै कारण आफुरुहको झगडा हुनेगरेको उनि सुनाउछिन् ।

माथि उल्लेखित घटना त समाजका प्रतिनिधी घटना मात्र हुन । यस्ता धेरै किशोरी छन जसले बालविवाह गरी अहिले विभिन्न हिंशा सहनुपरेको छ । उनिहरु उमेर नपुगी विवाह बन्धनमा बाधिएका छन् जब उनिहरु विवाहका लागि योग्य हुन्छन् तब भने डिर्भोस गर्न पुग्छन् । धेरैले त अन्याय सहन नसक्ने भन्दै सम्बन्ध विच्छेदसम्म पुगेका छन् तर कतिपय यस्ता किशोरी पनि छन् जसले घरपरिवारको डरले आफ्नो पिडा नत बुबा आमा लाई सुनाउन सक्छन् नत साथीभाई लाई नै ।

यता कपिलवस्तुमा सम्बन्ध बिच्छेद गर्नेको संख्यापनि बढेको तथ्यांकले देखाएको छ । कपिलवस्तुमा उमेर नपुग्दै विवाह गर्ने र बुझ्ने भएपछि समस्यामा परेर सम्बन्ध विच्छेद गर्ने बढेका छन्न् । जिल्ला अदालत कपिलवस्तुका अनुसार चालु आर्थिक वर्ष २०८०। ०८१ कोे साउन देखि माघसम्म मात्रै सम्बन्ध विच्छेदको संख्या ३ सय ८ रहेको छ । चालु आर्थिक वर्षको ७ महिनामा सम्बन्ध विच्छेदका ३ सय ८ मुद्धा दर्ता भएका छन् जसमा जिम्मेवारी सरेर आएका १ सय ६ रहेको र २ सय २ वटा मुद्धा दर्ता भएको श्रेस्तेदार हेमन्द ज्ञवालीले बताए । जसमा १ सय ६८ मुद्धा फर्छौट भएका छन भने १ सय ४० वटा फैसला हुन बाँकी छ ।
चालु आर्थिक वर्षको साउनमा ३०, भदौमा ३०, असोजमा १७, कार्तिकमा ५०, मंसिरमा ३३, पुसमा ३३ र माघको १४ गतेसम्म १० वटा मुद्धा दर्ता भएको ज्ञवालीले बताए । ‘जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्ने भनेर दैनिकजसो नै आउने गरेका छन् ।

उमेर नपुगेर नै भएको विवाहका कारण, पछि आफू बुझ्ने भएपछि समस्या देखिंदा सम्बन्ध विच्छेद गर्न आउने गरेको श्रेस्तेदार ज्ञवालीको भनाइ छ । सम्बन्ध विच्छेदपछि आमा बुवाले त स्वतन्त्र जीवन बिताउलान तर त्यसकोे प्रत्यक्ष असर भने बालबालिकालाई पर्ने गरेको छ ।

वाणगंगाकी उपप्रमुख रिता चौधरीले लैङ्गिक विभेदको यो चक्रलाई तोड्न जरुरी रहेको बताइन् । मुख्यतया शिक्षाकै कमीले यस्ता घटना घटिरहेको भन्दै शिक्षा तथा चेतना वृद्धि गर्नुपर्ने उनको तर्क छ ।

आमा बुवाको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको नेतृ गीता अन्जानले बताइन् । उनले भनिन्, ‘छोराछोरी जन्मेपछि सम्बन्ध विच्छेद गर्ने गरेका छन । बच्चाहरु सानो हुँदा अभिभावकहरु कुनै कारणले सम्बन्ध विच्छेद गर्छन, त्यसपछि बच्चाको जिम्मेवारी आमा वा बुवा एक्लैले राम्रोसँग पूरा गर्न सक्दैनन ।

अधिकारकर्मी मिना परियारका अनुसार सम्बन्ध विच्छेदका घटना बालविवाह, विपन्नता, मोबाइल फोनको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले हुने गरेको छ । यसैगरी कुटपिट, खान लगाउन नदिनु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु, सम्पत्ति प्राप्तिमा लोभ हुनुलगायतका कारणले पनि सम्बन्ध विच्छेद हुने गरेको छ ।

यस्तै नेतृ तथा अधिकारकर्मी देवकला सुवेदीले सर्वप्रथम त अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी नहुनु, आर्थिक तथा नैतिक कुरालेपनि बालविवाहले उग्र रूप लिएको बताइन् । अहिले सामाजिक संजालको दुरुपयोगले गर्दा पनि यस्ता घटना घट्ने गरेको भन्दै यस तर्फ परिवार संगै राज्यपनि जिम्मेवार रहनुपर्ने बताईन् । अहिले पुरुषपनि उत्तिकै पिडित रहेको उनि बताउछिन् ।

नवयुवतीमै सम्बन्ध विच्छेद हुनु, विवाहको एकमहिनामै शारिरिक तथा मानसिक याताना सहनु जस्ता घटनाले महिलाको जीवनमा हिंसाबाट कहिल्यै जोगिन नसकिने कुराको सङ्केत देखाउँदछ ।
महिलामाथि हुने हिंसामा तिनका बालबालिकाको जीवन पनि जोडिएको हुन्छ । यसले हिंसाको पुस्तान्तरणलाई पनि जनाउँछ । मानव विकासको सन्दर्भमा यो बेलैमा सल्टाउनुपर्ने गम्भीर विषय हो ।

प्रकाशित मिति : १८ माघ २०८१ शुक्रबार ००:००  २ : ५३ बजे