दीपा महत, कपिलवस्तु ।
जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पाठेघरको मुखको खोप अभियान सफल बनाउन आव्हान गरेका छन् । यस्ता खोपले जीवनलाई नयाँरुप दिएको बताए । खोप अभियान बारे जानकारी दिन तौलिहवामा राखिएको कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।
जिल्ला खोप समन्वय समिति संयोजक समेत रहेका प्रमुख आचार्यले सरकारले यहि माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियानमा लक्षित समूह कसैलाई पनि छुटाउन नहुने बताए ।
लक्षित समूहमा खोप अभियानलाई पुर्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरी खोप अभियान सफल बनाउन सबै पक्ष लाग्न जरुरी रहेको भन्दै उनले खोपका लागि निर्धारण गरिएका लक्षित किशोरीहरु छुट्न नहुने बताए । कपिलवस्तुमा सबै निकाय मिलेर यस अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए ।
कपिलवस्तुका ४४ हजार ४ सय ७१ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइँदै छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी समेतलाई लक्षित गरी माघ २२ गतेदेखि फाल्गुण ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरीले जानकारी दिए ।
खोप अभियान बारे जानकारी दिन मंगलबार तौलिहवामा राखिएको कार्यक्रममा बोल्दै चौधरीले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे ।
जिल्लामा ६ सय ५ वटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गर्न लागिएको हो । खोप लगाउन जिल्लाभरमा ६ सय ५ स्वास्थ्यकर्मी, १ हजार २ सय १० स्वयमसेवक र विद्यालयका शिक्षिका खट्ने छन् ।
जिल्लामा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने छ । पहिलो चरण अन्तरगत माघ २२ गते देखि २८ सम्म ६ पालिकाका विद्यालयबाट खोप लगाइने छ ।
कपिलवस्तु नगरपालिकाका ४ हजार ७ सय ९८, कृष्णनगरका ४ हजार ८ सय ३३, शिवराजका ७ हजार ५ सय २८, महाराजगञ्जका नगरपालिकाका ४ हजार ८ सय ६१ यसैगरी विजयनगरका २ हजार ३ सय १० र यशोधरा गाँउपालिकाका २ हजार ४ सय ७ किशोरीलाई खोप लगाइने चौधरीले बताए ।
यस्तै, दोस्रो चरणमा माघ २९ देखी फाल्गुण ६ गतेसम्म वाणगंगाका ४ हजार ८ सय ९२, बुद्धभूमि नगरका ४ हजार ५ सय ५०, मायादेवीका ५ हजार ३ सय ५५ र शुद्दोधन गाँउपालिकाका २ हजार ९ सय ४६ किशोरीलाई खोप लगाइने छ ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा ३६ हजार ७ सय ५७ र विद्यालयभन्दा बाहिर रहेका ७ हजार ७ सय १४ किशोरीलाई खोप लगाइने चौधरीले बताए ।
प्रतिक्रिया