१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

भारतले मनायो ७६ औँ गणतन्त्र दिवस



काठमाडौँ 

भारतले आइतवार ७६औँ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ।

सन् १९५० मा स्वतन्त्रतापछिको संविधान लागू गरेको दिन जनवरी २६ लाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ। यो अवसरमा विभिन्न कवाज, राजनीतिक सम्बोधन, कला र सांस्कृतिक कार्यक्रम गरिन्छ।

गणतन्त्र दिवसको अवसरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीहरू, उच्चपदस्थ अधिकारीहरू कर्तव्यपथमा उपस्थित भएका थिए।

इण्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो मुख्य अतिथिका रूपमा थिए। उनले गणतन्त्र दिवसको मुख्य समारोहमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे। यो वर्षको गणतन्त्रको नारा स्वर्णिम भारत : विरासत र विकास रहेको छ।

इण्डोनेशियाका सैन्य जवानले दस्ता परेड निकाले। भारतीय सेनाका जवानले भीष्म ट्याङ्क, पिनाका मल्टी लन्चर रकेट सिस्टमका साथ मार्च पास गरे। पहिलोपटक प्रलय मिसाइल परेडमा सहभागी थियो। परेडमा १५ राज्य र १६ मन्त्रालयका झाँकी देखियो।

भारतका साथै भारतीय दूतावास भएका सबै देशमा गणतन्त्र दिवस भव्यपूर्वक मनाइएको छ। नेपालस्थित भारतीय दूतावासले पनि दिवस मनाएको छ। कार्यक्रममा भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो। साथै झण्डोत्तोलन गरिएको थियो।

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जाल एक्समा सन्देशमा भनेका छन्, ‘यो अवसरले हाम्रो संविधानको आदर्शको संरक्षण र बलियो र समृद्ध भारतको दिशामा काम गर्ने हाम्रो प्रयासलाई बलियो बनाओस्।’

प्रकाशित मिति : १३ माघ २०८१ आइतबार ००:००  ८ : ३२ बजे