१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

जनतासंग जोडिने अभियानमा छौँः प्रचण्ड



कपिलवस्तु ।

माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वदेखि पश्चिमसम्म जनतासँग जोडिने विशेष माओवादी अभियान सञ्चालन हुने बताएका छन्। शनिबार कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा माओवादी जिल्ला समन्वय समितिद्वारा आयोजित नेता कार्यकर्ता भेटघाटका क्रममा प्रचण्डले माओवादीप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गरे । उनले विगतमा भएका अभियानहरूमध्ये ‘जनतासँग माओवादी’ अभियानलाई उत्कृष्ट अभियान बनाउने लक्ष्य रहेको बताए ।

पार्टीलाई सुदृढीकरण गर्दै जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ । अब त्यही वर्ग र समुदायलाई अगाडि बढाउने संकल्प गरेको र नयाँ ढंगले अघि बढाउन हजारौँ नेता–कार्यकर्ता पार्टीमा प्रवेश गराउने अभियानले माओवादीलाई जनतासँग अझ नजिक पुर्‍याउने बताए । प्रचण्डले पछिल्लो १८ महिनामा माओवादी नेतृत्वको सरकारको सुशासन, भ्रष्टाचार विरोधी कदम र सामाजिक विभेदविरुद्धका क्रियाकलापले सकारात्मक प्रभाव पारेको बताए । अहिले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ र अभियानका क्रममा ठुलो संख्यामा पार्टी प्रवेश गराउनुपर्ने आवश्यकता रहेको र पार्टीको केन्द्रीय समितिले मधेशी–मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न विशेष प्रस्ताव पारित गरेको उनले बताए ।

कार्यक्रममा माओवादीका केन्द्रीय सचिव चक्रपाणि खनाल‘ बलदेवले वर्तमान सरकार नागरिकमैत्री बन्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले देश संकटमा पर्ने अवस्था देखिएको बताए । माओवादी नेताहरूले देशभर जनताको भावनालाई समेट्दै विभेद र विकृति मुक्त समाज निर्माणमा माओवादीको भूमिका अझ प्रभावकारी बनाउने खनालले बताएका छन् । यस्तै माओवादीका जिल्ला इन्चार्ज रुद्र बन्जाडे, जिल्ला संयोजक विष्णु बेल्वासेलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०८१ आइतबार ००:००  ८ : २१ बजे