१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

कपिलवस्तुको बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै



दीपा महत, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नवग्रह अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ हुनेभएको छ । श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र बुद्धभूमि १ विरपुरको आयोजनामा हुने ज्ञानयज्ञ नौ दिनसम्म चल्ने छ ।

माघ २१ गतेदेखी सुरुहुने ज्ञानयज्ञको काम ७० प्रतिशत सकिएको आयोजकले जनाएको छ । ज्ञानयज्ञबारे जानकारी दिन राखिएको पत्रकार सम्मेलनमा बोल्दै शनिदेव मन्दिरका परिकल्पनाकार तथा मठाधिस बाबा योगीराजले नेपालमै ९ वटा ग्रहको अलगअलग मन्दिर भएको एक मात्र मन्दिर विरपुरको शनिदेव मन्दिर भएको दाबी गरे ।

यज्ञमा ९ वटै ग्रहको ग्रह शान्ति गरिने भन्दै यसकालागि ११ हजार एक सय ११ रुपैया शुल्क तोकिएको छ । अन्यथा यज्ञमा कसैबाट पनि शुल्क नलिने बताए । माघ २१ गते महासंकल्प पछि ९ दिनसम्मनै पण्डितले अनुष्ठानको कार्यगर्ने बताए ।
महासंकल्प अर्थात ग्रहशान्ती लागि अहिलेसम्म ३ सय ५० बढीले रसिद काटिसकेको भन्दै माघ २१ पछि आउने कुनैपनि रसिद नकाटिने स्पष्ट पारे ।

महासंकल्पका लागि विहान र बेलुका २७ जना पण्डितद्धारा विधिपूर्वक जप एवम् हवन गरिनेछ ।
ज्ञानयज्ञमा १ क्विन्टल गाईको घ्यू बाट वैज्ञानिक तरिकाले हवन गरिने भएकाले भारतको गौशालाबाट घ्यू ल्याइने बताए । सोही मात्रामा नेपालमा शुद्ध गाईको घ्यू उपलब्ध नभएकाले भारतबाट ल्याउन लागरिएको बताए । यज्ञमा निस्वार्थ भावले स्थानीय एवम नेपाली सेनाले श्रमदान गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर थापा (तिलक)ले यज्ञमा उपस्थित भइ कथा श्रवण गर्न सबैमा आग्रह गरे । निस्वार्थ भावले आयोजना गरिएको यज्ञबाट यस क्षेत्रको प्रचारप्रसार हुनेभन्दै यज्ञलाई सफल पार्न सबैमा आग्रह गरे । यज्ञको नाममा एक रुपैया पनि अनियमितता नहुने भन्दै कसैले त्यसो गरेमा आफुलाई खबर गर्न आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बोल्दै महायज्ञको नाममा विभिन्न ठाँउमा आर्थिक अनियमितता भएको भन्दै पवित्र यस यज्ञमा त्यसो नहुनेमा आफुढुक्क रहेको बताए । साथै यज्ञको प्रचारप्रसारको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

ज्ञानयज्ञ माघ २१ गते बिहान ९ः४५ मा प्रारम्भ हुने छ भने १०ः ०५ मा झण्डा स्थापना गरिने छ । यसैगरी बिहान १०ः२४ मा सूर्य मन्दिर शिलन्यास गरिने कार्यक्रम रहेको छ ।
यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १०ः ४० बाट सुरु हुनेछ । राति ८ बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य श्री विष्णु प्रसाद ज्ञवालीज्यूको मुखारविन्दबाट श्रीमद्भागवत तथा कथा प्रवचन हुनेछ । ज्ञानयज्ञ माघ २९ गते समापन हुने छ । यज्ञ सम्पादन मूल समिती संयोजक इश्वरी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रविलाल घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१ शनिबार ००:००  ७ : १२ बजे