१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

बाणगंगामा मालपोत र नापीको सेवा माघको अन्तिम हप्ताबाट सुरु हुने



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगामा मालपोत र नापी कार्यालयको सेवा माघको अन्तिम हप्ताबाट सुरु हुने भएको छ । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाणगंगामा मालपोत र नापी कार्यालय स्थापनाको तयारी अवलोकन गर्दै यस्तो बताउनु भएको हो ।

सो अवसरमा बाणगङगाका मेयर चक्रपाणी अर्यालले भवनमा पार्टेशनको काम भैरहेको र अझै कम्तिमा १५ दिन लाग्ने बताउनु भयो । काम सकिनासाथ उद्घाटन गर्न मिल्ने अर्यालले बताउनु भयो । स्थलगत अवलोकनमा मन्त्री अधिकारीका साथ पुग्नु भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्व अर्यालले सो क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउन आफ्नो अग्रसरता रहने बताउनु भयो ।

मालपोत कार्यलय तौलिहवाका प्रमुख दुबिन्द्र बस्याल र नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले सरकारले जनतालाइ सुबिधा पुराउन गरेको निर्णय कार्यान्वयन गर्न आफुहरु आतुर रहेको जानकारी दिनुभयो ।

मन्त्री अधिकारी सहितको स्थलगत अवलोकनकर्तामा भुमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेल एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीका प्रमुख स्वकीय सचीव भेषराज पाण्डे बाणगङ्गा ८ का अध्यक्ष बाबुराम अर्याल ७ का अध्यक्ष बिष्णु गिरी सहित स्थानीय वार्डका अगुवाहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १० माघ २०८१ बिहिबार ००:००  ९ : ३५ बजे