१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गरौंः अध्यक्ष प्रचण्ड



नेपालगन्ज।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताउनुभयो।

बॉकेको खजुरा २ स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयको प्रांगणमा निर्माण गरिएको सहिद बाटिकाको बिहीबार उद्घाटन गर्दै सो बताउनुभयो।

हजारौंको बलिदानबाट प्राप्त भएका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र फेरि हुन थालेको जनाउँदै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि जनता फेरि जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो।

माओवादीको नेतृत्वमा गठन भएको सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानबाट डराएर अप्राकृतिक गठबन्धन बनेको अध्यक्ष प्रचण्डले बताउनुभयो।

सहिद बाटिकामा निर्माण गरिएका जनयुद्धका सहिह डम्बर रानाभाट, प्रतिमा गौतम र बिपिन अधिकारीको सालिकको अनावरण गर्दै प्रचण्डले माल्यार्पण समेत गर्नुभयो।

सो अवसरमा उहाँले सहिद परिवारसँग भेट गरेर उनीहरूको अवस्था बारे जानकारी पनि लिनुभयो।

यसअघि अध्यक्ष प्रचण्डले बाँकेको खजुरा ३ धवलागिरी गाउँमा सहिद डम्बर रानाभाटको घरमा पुगेर यस क्षेत्रका सहिद परिवारसँग भेट गर्दै दिउँसोको खाना पनि सहिद परिवारसँगै खानुभएको थियो।

सो क्रममा उहाँले सहिद कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दुःख पीडाको साथी पार्टी भएको बताउनुभयो।

प्रकाशित मिति : १० माघ २०८१ बिहिबार ००:००  ९ : २७ बजे