दीपा महत, बुद्धभूमि ।
कपिलवस्तुका झण्डै ४५ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै छ । यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत जिल्लाका ४४ हजार ४ सय ७१ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जानकारी दिए ।
जिल्लामा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरण अन्तरगत ५ पालिकाका विद्यालयबाट खोप लगाइने छ । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका यसैगरी विजयनगर र यशोधरा गाँउपालिकामा माघ २२ गतेदेखी २८ गतेसम्म खोप अभियान चलाइने अधिकृत चौधरीले बताए ।
यस्तै, दोस्रो चरणमा माघ २९ देखी फाल्गुण ६ गतेसम्म वाणगंगा, बुद्धभूमि, महाराजगञ्ज नगरपालिका मायादेवी र शुद्दोधन गाँउपालिकामा खोप अभियान चलाइने छ ।
जिल्लाका १० वटै पालिकामा रहेका विद्यालयहरूलाई केन्द्र मानि ६ सय ५ वटा विद्यालयबाट खोप लगाइने चौधरीले जानकारी दिए ।
खोप अभियानका लागि जिल्लामा ६ सय ५ स्वास्थ्यकर्मी र १ हजार २ सय १० स्वयमसेवक खटिनेछन् । हरेक विद्यालयमा एक महिला स्वयसेविका र विद्यालयका एक शिक्षिका खटिनेछन् ।
प्रमुख चौधरीले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा ३६ हजार ७ सय ५६ र विद्यालयभन्दा बाहिर रहेका ७ हजार ७ सय १४ जना गरी ४४ हजार ४ सय ७१ जना लाई खोप लगाउन लागिएको जानकारी दिए ।
महिलाहरूलाई हुने पाठेघरको क्यान्सर संसारका सबै देशहरूमा नै जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा परेको छ । नेपाली महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण रहेको छ ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको छ भने एक हजार ३ १३ जना महिलाको सोही क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।
पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) का कारण हुने गर्छ । महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी नामक भाइरसविरूद्ध उक्त खोप दिन लागिएको हो ।
सरकारले नियमित र अभियान गरी देशभरका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई एचपिभी खोप लगाउने जनाएको छ । जसमध्ये लुम्बिनी प्रदेशमा नियमित ६२ हजार ९९४ र अभियानको दुई लाख ३६ हजार ४७७ गरी दुई लाख ९९ हजार ४७१ जना किशोरीलाई खोप लगाइँदै छ । पाठेघरको क्यान्सर विरूद्धको देशव्यापी अभियान अन्तर्गत कपिलवस्तु जिल्लामा पनि उक्त खोप लगाउन थालिएको हो ।
प्रतिक्रिया