१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

कपिलवस्तुमा ९ हजार बढीको हातमा राष्ट्रिय परिचयपत्र



दीपा महत, तौलिहवा ।

कपिलवस्तुमा ९ हजार बढीले राष्ट्रिय परिचयपत्र लिएका छन । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालन गरिएको अभियानबाट हालसम्म ९ हजार ५ सय ४३ जना लाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।

जिल्लामा २०७६ जेठ १५ गतेबाट राष्ट्रिय परिचयपत्र अभियान संचालन भएपनि असारबाट मात्र काम सुरु भएको हो ।
हालसम्म ३ लाख ४४ हजारले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन । त्यसमध्ये राष्ट्रिय अभियान अन्तरगत २ लाख १४ हजार र जिल्ला प्रसासनबाट १ लाख १९ हजार ३ सय जनाको विवरण दर्ता भएकोे प्रमुख अर्यालले बताए ।
जसमा ५६ हजार ८ सय ३६ जनाको परिचयपत्र बनेर आएको छ । प्रसासनमा विवरण दर्ता गराएका सम्बन्धीत सबैजनालाई प्रशासन कार्यालयमा गएर आफ्नो परिचयपत्र लिन प्रमुख अर्यालले आग्रह गरे ।

२०७८ देखि २०८० सम्म जिल्लाका स्थानीय तहमा अभियान संचालन गरिएको थियो सोही अभियानबाट २ लाख १४ हजारको विवरण संकलन गरिएको थियो । तर स्थानीय तहबाट संकलन गरिएका विवरणमा विभिन्न त्रृटि देखिएका छन् । अहिलेसम्म अभियानबाट दर्ता भएका परिचयपत्र एउटा पनि नआएको कार्यालयका कम्पूटर अपरेटर टिका भट्राइले बताइन् ।

प्रशासनबाट दर्ता भएका विवरणमा केहि समस्या छैन तर अभियान अन्तरगतका विवरणमा विभिन्न त्रृटि देखिए उनले भनिन् ।
परिचय पत्रका लागि विवरण संकलन गरिएपनि प्रिन्ट नहुँदा समस्या भएको उनले बताइन् ।
राष्ट्रिय परिचयपत्र लिंदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर प्रशासन कार्यालयमा आउनुपर्ने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।

पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड अत्याधिक बढेको छ । सरकारले सवै प्रकारका सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउने संख्यामा वृद्धि भएको हो ।
अहिले प्रशासन कार्यालयमा २ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ । जसमा सरदर ८० जनासम्मको क्षमता रहेको छ । तर, दैनिक १ सय १० जनाको विवरण दर्ता तथा वितरण हुने गरेको छ ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान–श्रीमतिको नाम, स्थायी र अस्थायी ठेगाना पर्दछन ।
जैविक विवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ ।
परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाइँसराइको गरेको हकमा बसाइँसराइको सक्कल कागजपत्र चाहिन्छ ।

प्रकाशित मिति : १० माघ २०८१ बिहिबार ००:००  ८ : ३२ बजे