बिजुवार ।
प्युठानको झाँक्रीस्थान मन्दिरमा सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । प्युठानको मल्लरानी गाउँपालिका–४ स्थित झाँक्रीस्थान मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले सधैँ चिच्याएर वर माग्ने गर्दछन् । झाँक्रीस्थान देउताले कानले सुन्दैनन् भन्ने जनविश्वास छ ।
त्यसैले यहाँ पुस्तौंदेखि चिच्चाएर वर माग्ने गरिएको हो । मन्दिरमा परम्परादेखि नै पूजाआजा गर्दै आएको पाइन्छ । त्यहाँ ठुलो स्वरले चिच्याएर वर माग्दा मनले चिताएको पूरा हुने जनविश्वास छ ।
मल्लरानी –४ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार यसरी चिच्चाएर वर माग्ने प्युठानमै यही एउटा मात्रै धार्मिकस्थल हो । उहाँले भन्नुभयो, ‘‘यहाँ जुनसुकै बेला पनि चिच्चाएर वर माग्ने गरिन्छ, कुनै मेला पर्व कुर्नुपर्दैन ।’’
पछिल्लो समय यस ठाउँमा दर्शनार्थीहरु समेत वढेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दसैंको सप्तमी र नवमीमा दर्शनार्थीको बढी भिड लाग्छ । खास गरी मङ्गलबार र शनिबार यो ठाउँमा दर्शनार्थीहरु यहाँ पुग्ने गर्दछन् ।
उहाँका अनुसार बोका, परेवा, कुखुरा, राँगो, हाँस लैजाने र पञ्चबलिको बलि दिने गरिन्छ । मुख्य गरी झाँक्रीस्थानमा चामलको पिठोबाट बनाइएको बाक्लो रोटी चढाइन्छ ।
झाँक्रीस्थान देउताले चिच्याएर मागेको वर पुर्याइदिने भएकाले नै आफू आएको नौबहिनीबाट आएका मनवीर घर्तीले बताउनुभयो ।
झाँक्रीस्थानमा प्युठानसहित रोल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेको छन् । सदरमुकामदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको झाँक्रीस्थानमा खानेपानी, शौचालय, प्रतीक्षालय निर्माण गरिएको छ ।
अहिले एक करोड ५० लाख रुपियाँ बजेटबाट भित्रिकोट–बिजुवार–थापडाँडा हुँदै झाँक्रीस्थान जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया