७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता



काठमाण्डौ ।

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतिसँग आज फोनवार्ता गर्नुभएको छ ।

इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतवारदेखि मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा. राणाले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा.अब्देल अतिमार्फत इजिप्ट सरकारसँग आज आग्रह गर्नुभएको हो ।

आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहनुभएकी मन्त्री डा. राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गर्नुभएको हो ।

फोनवार्ताका क्रममा मन्त्री डा. राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिनुभएको थियो । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा. अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताउनुभएको थियो ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा.राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।

केही दिनमात्र अघि मन्त्री डा। राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग पनि फोनवार्ता गरी यही आग्रह गर्नुभएको थियो । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ ।

त्यसैगरी मन्त्री डा.राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरूले अपहरणमुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गर्नुभएको थियो ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गएको वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. राणाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय मञ्च र बैठकहरूमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१ सोमबार ००:००  ७ : ५१ बजे