६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

रेसुङ्गा विमानस्थलबाट उडान ठप्प



तम्घास ।

विगत एक महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका कारण नियमित उडान हुन नसकेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

पछिल्लो समय पुस ४ गते मात्रै विमानस्थलबाट उडान भएको र अहिले उडान हुन नसकेको थापाले बताउनुभयो । विमानस्थलबाट अझै केही समय उडान हुन नसक्ने उहाँको भनाइ छ ।

पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्याधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समयमा यात्रुहरुको चापलाई दृष्टिगत गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो ।

काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गाबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो।

हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नका लागि गुल्मी आएको रेसुङ्गा नगरपालिका गुल्मीले जनाएको छ । हाल गुल्मीबाट काठमाडौंका लागि सात हजार तीन सय र काठमाडौंबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेशन प्रमुख थापाले बताउनुभयो ।

जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिलोमिटर कच्चीबाटोपछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८१ आइतबार ००:००  ७ : १६ बजे