देउखुरी ।
लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्थित बनाउन विभिन्न महत्त्वपूर्ण कदम चालिएको हो ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले पारदर्शिता र सुशासन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सरकारका हरेक काममा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न सूचना व्यवस्थापन सुधारमा जोड दिइएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्रीका अनुसार पारदर्शिताका लागि सरकारले कार्यालयबाट प्रत्येक निकायमा सूचना अधिकारी तोक्ने प्रक्रिया अघि बढाइएको छ। यसले सूचनाको माग समयमै पूरा गर्ने वातावरण तयार पार्ने अपेक्षा गरिएको छ । सरकारी कामकारबाहीका विषयमा जनतालाई सहजै जानकारी दिन सूचना व्यवस्थापन प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने काम भइरहेको छ ।
नागरिकको हकलाई प्रभावकारी बनाउन सरकारले सूचना प्रवाहमा ढिलासुस्ती र अपारदर्शी प्रक्रियालाई अन्त्य गर्न ठोस कदम चालेको छ। सरकारी कार्यक्रम र कार्यान्वयन प्रक्रियालाई जनताले सहजै नियाल्न पाउने गरी रिपोर्टिङ प्रणालीलाई नियमित र पारदर्शी बनाइएको छ।
मुख्यमन्त्री आचार्यले सरकारका सबै गतिविधि स्पष्ट र प्रभावकारी ढङ्गले जनतासमक्ष पुर्याउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “हामी जनताको ऐना हौं। सरकारका हरेक कामलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन आवश्यक छ ।”
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको उपस्थिति थियो । सूचना अधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रममा जनउत्तरदायी शासन प्रवर्द्धनका लागि सरकारका पहलहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारले पारदर्शिता र सुशासनको माध्यमबाट जनताको विश्वास जित्न चालिएका कदमहरूलाई आगामी दिनमा थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। जनताको सूचनामा पहुँच सुनिश्चित गर्न सरकारले सूचना प्रवाह प्रणालीलाई सुधार्न निरन्तर काम गरिरहेको छ।
प्रतिक्रिया