१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

प्रथम भलवाड ब्याडमिन्टन कपको उपाधी वडा न.७ लाई



बाबुराम रायमाझी, भलवाड ।

युवा शक्तिको एकता, आजको आवश्यकता भन्ने मूल नाराका साथ भलवाड ब्याडमिन्टन खेल समूह वाणगंगा ९ को आयोजनामा प्रथम भलवाड ब्याडमिन्टन कप २०८१ अन्तरपालिका वडा स्तरीय प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगितामा वडा नं ७ का संयोग गिरी र मदन कुवरको टिम विजेता भएका छन् भने उपविजेताको उपाधि वडा नं ९ का रोशन बुढा मगर र चेतन घर्तीले प्राप्त गरेका छन्।
विजेता टोलीले नगद रु १५ हजार, गोल्ड कप मेडल र प्रशंसा पत्र प्राप्त गरेका छन्। त्यस्तै, उपविजेता टोलीले नगद रु ८ हजार, गोल्ड कप मेडल र प्रशंसा पत्र प्रदान गरियो। पुरस्कार वितरण वाणगंगा ९ का वडा अध्यक्ष कमल पौडेल, साना किसान कृषि सहकारी संस्था भलवाडका अध्यक्ष दीपक बस्नेत, सरेपानी सामुदायिक वनका अध्यक्ष बिन्द्र गुरुङ र मुख्य प्रायोजक खोजिपुर सामुदायिक वनका अध्यक्ष दीपक थापाले संयुक्त रूपमा गरेका थिए।
आयोजक समूहले प्रतियोगिताको क्रममा उत्कृष्ट खेलाडी, सहयोगी संघसंस्था, व्यापारी र व्यक्तिहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेर सम्मान गरेको छ। यसै क्रममा, भलवाड ब्याडमिन्टन खेल समूहले वाणगंगा ९, भर्तापुरका मनु विश्वकर्माकी ६ वर्षीया क्यान्सर पीडित छोरी माहिरा विश्वकर्माको उपचारका लागि रु ८ हजार सहयोग प्रदान गरेर उल्लेखनीय कार्य गरेका छन्।
यस प्रतियोगिताको उद्घाटन पुस २७ गते वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले गरेका थिए। प्रतियोगितामा वडा नं ७, ८, र ९ का २६ टिमले सहभागीता जनाएका थिए ।
समापन समारोहमा वडा नं ९ का वडा अध्यक्ष कमल पौडेलले वडास्तरीय खेलकुद आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गर्दै खेलाडी राष्ट्रका गहना भएको र आगामी दिनमा वडा तथा नगरपालिकाबाट खेल क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा खेल संयोजक ज्ञानु बुढा मगर, समाजसेवी बिन्द्र गुरुङ, दीपक थापा, दीपक बस्नेत लगायतले शुभकामना दिएका थिए ।
भलवाड ब्याडमिन्टन खेल समूहका अध्यक्ष नवराज गुरुङले सहभागी खेलाडीहरूलाई धन्यवाद दिँदै प्रतियोगितालाई भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे। कार्यक्रमको सञ्चालन राजेन्द्र खनालले गरेका थिए।
प्रतियोगिताले युवापुस्तामा खेलकुदप्रतिको अभिरुचि र जागरूकता अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वका कार्यमा समेत योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : १ माघ २०८१ मंगलबार ००:००  २ : ०७ बजे