दीपक अनुरागी, कपिलवस्तु ।
कपिलवस्तुमा ३३ बर्षीय मेयर अजय थापाले तहल्का पिट्दै छन् । देशभित्रै नयाँ र युवा नेताको खोजी बढिरहेका बेला युवा मेयर थापाको लोकप्रियता चुलिँदो क्रममा छ । उनको लोकप्रियताको मापन वर्चश्वशाली कार्यकर्ताका बीचबाट नभई कामको आधारबाट बनेको हो ।
निर्वाचित भएको अढाई बर्षपछि मेयर थापाले गरेका कामहरुको चर्चा जिल्लाभर हुन थालेको छ । त्यसो त उनले गरेका कामको सिको, सिंगो देशका पालिकाले गर्न सक्ने प्रशस्त आधार छन् । तरपनि गरेका कामको चर्चा एकाएक नभई विस्तारै हुने हो । त्यही रफ्तारमा अगाडि रहेका मेयरको काममा सिंगो जिल्लाबासीले हौसला थप्न थालेका छन् । सार्वजनिक यातायातको साधनमा उनका तस्बिर देख्न सकिनु एक उदाहरण हो ।
थापा जिल्लाका मात्र नभई सिंगो देशकै यस्ता मेयर हुन्, जसले माध्यमिक तहसम्म (कक्षा १२) को शिक्षा निशुल्क बनाएका छन् । वि.सं. २०७९ सालमा निर्वाचित भएर शिवराज नगरपालिकाको बागडोर सम्हाल्न आइपुगेका मेयर थापाले आफू निर्वाचित भएको एक बर्षपछि नगरमा कक्षा १२ सम्मको शिक्षा निशुल्क बनाउन सफल बनेका हुन् ।
उनले आव ०८०/०८१ बाटै बनाउनुपर्ने कानून निर्माण गरी शिक्षा निशुल्क बनाउने काम सुरु गरेका छन् । गरे के हुँदैन् भन्ने गतिला उदाहरण बनेका छन्, मेयर थापा ।
शिक्षा निशुल्क गराउने उद्घोष गर्दा जिल्लाका अधिकांश अगुवाहरुले लोकप्रिय बन्ने प्रयासका रुपमा हेरेका थिए । कतिपयले त यो असम्भव कार्यसम्म भनेर टिप्पणी गर्थे । केहीँले यस्तो निर्णय कार्यान्वयन हुन सक्दैन् भनेर समेत भविष्यवाणी गरेका थिए । यी सबैका आशंका, डाहलाई चिर्दै मेयर थापाले शिक्षामा क्रान्ति ल्याउन सफल भएका छन् ।
मेयर थापाले कक्षा १२ सम्मको शिक्षालाई निशुल्क मात्र बनाएका छैनन्, सामुदायिक विद्यालयकै शिक्षालाई गुणस्तर बनाउन लागि परेका छन् । त्यसका लागि करार शिक्षकको दरबन्दी कायम गरी शिक्षकको पदपूर्ती गरेका छन् । करारमा भर्ना भएका शिक्षकलाई बार्षिक रुपमा कामको आधारमा जागीरको नवीकरण गर्ने गरिन्छ ।
‘राज्यले तोकेको पारिश्रमिक दिएरै शिक्षकलाई करारमा भर्ना गरेका छौं । एक बर्षभित्र सम्बन्धित शिक्षकले पढाएको विषय विद्यार्थीले कति बुझे, नतीजा कस्तो आयो, त्यहीँ अनुसार शिक्षकको थप सेवा नवीकरण हुन्छ, मेयर थापाले भने, “यसले गर्दा विद्यार्थीको पढाई प्रति शिक्षक जिम्मेवार बन्ने हाम्रो अपेक्षा छ ।”
सामुदायिक विद्यालयको पढाईलाई गुणस्तर बनाउन यसले सघाउने अपेक्षा सिंगो नगरपालिकाको छ ।
मेयर थापा यतिमा मात्र रोकिएका छैनन् । निजी विद्यालयले विद्यार्थीमाझबाट उठाइरहेको मनपरी शुल्कमा समेत एकरुपता कायम गरेका छन् । नगरका सबै निजी विद्यालयको मासिक शुल्क लगभग एउटै छ । निजी विद्यालयको स्रोतसाधनका हिसाबले केही मात्रमा फरक भएपनि मुलतः मासिक शुल्क एकै किसिमको रहेको नगरपालिकाका शिक्षा तथा युवा शाखाका प्रमुख पूर्ण विश्वकर्मा बताउँछन् ।
साथै निजी विद्यालयमा अध्यापन गराउने शिक्षकको तलव पनि नगरपालिकाले नै तोकेको छ । नगरभित्र न्यून ज्यालामा शिक्षक राखेर निजी विद्यालयले विद्यालय सञ्चालन गर्न पाउने छैनन् । शिक्षकलाई उचित पारिश्रमिक दिएरै निजी विद्यालयले शिक्षक राख्नुपर्नेछ ।
यो बर्षदेखि छात्रछात्रालाई स्नातकतहसम्म पढ्ने वातावरण मिलाउनका लागि ‘मेयर उपमेयर छात्रवृत्ति कार्यक्रम’ लागू गरिएको छ । यस विषयमा मेयर थापा भन्छन्, ‘माध्यमिक शिक्षा निशुल्क भयो । ‘तर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी मध्ये गरिब, जेहेन्दार, जनजाती, मधेसी, मुस्लिम, थारु, दलित, सहिद परिवार र खसआर्य छात्र छात्रा लक्षित वर्गका किशोर, किशोरीहरुलाई स्नातक तहसम्मको अध्ययनमा समावेश गर्नुपर्छ भनेर यो कार्यक्रम ल्याएका छौंँ ।’
हुन थाल्यो मेयर थापाको गाडीमै प्रचार
मेयर थापाको कामप्रति सम्मान गर्दै सार्वजनिक यातायातको साधनमा उनको तस्बिर देख्न थालिएको छ । देशको राजधानी काठमाडौंका मेयर बालेन शाहको जस्तै शिवराजका मेयर थापाको चर्चा यहाँ चुलिँदोक्रममा छ । जिल्लाबाट विभिन्न छिमेकी जिल्लासम्म गुड्ने सार्वजनिक सवारीमा उनको फोटो अंकित सवारी देख्न थालिएको छ ।
राप्रपाबाट मेयर जितेका थापा
अप्रत्यासित चुनावी नतीजा आफ्नो पक्षमा पार्दै उनले शिवराज नगरपालिकामा चुनाव जितेका थिए । शिवराज सबै जातजाती, भाषाभाषी, बहुधार्मिक समुदाय बसोबास गर्ने क्षेत्र हो । यहाँ कुनै एक समुदायको मात्र वर्चश्व छैन् । मधेसी, मुस्लिम, पहाडीया, थारु, आदीवासी, जनजाती, दलित समुदायको मिश्रित बसोबास यस नगरभित्र छ । त्यसो हुँदा यहाँ चुनाव जित्न त्यति सहज छैन् । साक्षरता दरका हिसाबले पनि यो नगर तुलनात्मक रुपमा जिल्लाका अरु पालिकाभन्दा पछाडी नै छ । चुनावमा यहाँ जातिय तथा क्षेत्रिय नाराले प्राथमिकता पाउने गर्छ । तर, उनले सबै विषयलाई पछि पार्दै हिन्दुराष्ट्र, संबैधानिक राजसंस्थाको सिद्धान्त बोक्ने पार्टीबाट चुनाव जितेका हुन् ।
मेयरमा नउठ्नु भन्दा पहिला उनी नेपाली कांग्रेसमा सक्रिय थिए । वि.सं. २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधि सभा ३ को ‘१’ मा कांग्रेसबाट उठेका थिए । बामगठबन्धनको कारण उनी पराजित हुन पुगे । त्यो निर्वाचन अगाडि असारमा भएको स्थानीय तहको चुनावमा भने थापा राप्रपा नेपालबाट मेयरमा उठेका थिए ।
०७९ मा भने अन्तिम समयमा कांग्रेसले टिकट नदिएपछि थापा आफ्नो पुरानो पार्टी राप्रपाबाट चुनावमा उठेका हुन् । युवा माझ लोकप्रिय थापा विभिन्न सामाजिक सक्रिय हुँदै आएका नेता हुन् । आर्थिक रुपमा थापा मध्यम वर्गमा पर्छन् ।
शिक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि छलाङ्ग
मेयर थापा स्वास्थ्य क्षेत्रमा पनि छलाङ्ग मार्ने दिशामा छन् । उनले नगरभित्रका नागरिकका लागि सर्वसुलभ विशेषज्ञ सेवा दिन थालेका छन् । नगरभित्र स्थापना भएको नगर अस्पताललाई थप व्यवस्थित बनाउँदै विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएका छन् । यहाँ उपचार गर्ने विरामीले निजी अस्पतालमा लाग्ने शुल्कको ५० प्रतिशत छुट दिने गरिन्छ । प्याथोलोजी सेवामा ५० प्रतिशत छुटका साथै भिडियो एक्सरेमा ४ सय छुटको व्यवस्था छ । यस्तै नेपाल सरकारले उपलब्ध गराएका सबै औषधि निशुल्कको व्यवस्था छ ।
साथै नगरपालिका भित्रका जेष्ठ नागरिक, अपाङ्गता भित्र पर्ने ‘क’ र ‘ख’ समूहलाई बर्षको तीन पटक निशुल्क चेकजाँज र निशुल्क औषधि दिने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए ।
‘बर्ष तीन पटक घरघर पुगेरै ७० बर्षमाथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिइरहेका छौं,’ उनले भने ।
हरेक कार्यपालिका बैठक हुन्छ लाइभ
लुम्बिनी प्रदेशभित्रका १ सय ९ स्थानीय तह मध्ये शिवराज यस्तो नगरपालिका हो, जहाँ हरेक कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गरिएको हुन्छ । जनप्रतिनिधिले गर्ने हरेक काम जनता केन्द्रीत रहने भएकाले गोप्य कोठामा बैठक गर्न हुँदैन् भनेरै कार्यपालिका बैठक लाइभ गर्दै आएको मेयर थापा बताउँछन् । बैठकमा बैठकका एजेण्डा उपर मिडियाबाट हुने लाइभ मार्फत खुलस्त छलफल हुने गरेको छ । नगरबासीले मात्र होइन्, सिंगो देशभरका नागरिकले त्यो बैठकको प्रत्यक्ष प्रशारण हेर्न र सुन्न सक्छन् ।
प्रतिक्रिया