२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा



नवलपुर ।

पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।

पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो । राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको बनजराले जानकारी दिनुभयो । यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ ।

शुक्रवार साँझ विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा एक्कासि भाँचिएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस अघि दाउन्नेमा सडक अवरुद्ध भएका कारण लामो समय पुलमा धेरै सवारी साधन रोकिँदा पुल थप कमजोर बनेको थियो । यस अघि नवलपुरको गैँडाकोटको जय श्री पुल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ ।

बुटवल नारायणघाट सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरू सञ्चालन गर्ने गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१ शनिबार ००:००  ९ : १७ बजे