२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

अमेरिकाको लस एन्जलसमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुग्यो



एजेन्सी ।

अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । आगलागीमा परी ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको र ज्यान गुमाउनेहरूको पहिचान गर्न कैयौं हप्ता लाग्न सक्ने लस एन्जलसका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले लस एन्जलस क्षेत्रमा पाँच ठाउँमा आगलागी भइरहेको छ । पेलिसेड्स, एटन, केनेथ, हस्र्ट र लिडिया क्षेत्रमा आगलागी भइरहेको छ । लस एन्जलस प्रहरीले शहरको वुडल्यान्ड हिल्स क्षेत्रमा आगो लगाउने प्रयास गरेको आशङ्कामा एक जनालाई पक्राउ गरेको छ । तर स्थानीय अग्निनियन्त्रकले जङ्गलमा आगो जानाजानी शुरू भएको प्रमाण नभेटेको बताएका छन् ।

आगलागीका कारण झन्डै १० हजार संरचना ध्वस्त भएको छ । अहिलेसम्म एक लाख ८० हजार जनालाई स्थानान्तरण गरिएको र दुई लाख जनाभन्दा धेरै मानिस जोखिममा रहेका बीबीसीको खबरमा उल्लेख छ ।

आगलागीबाट ३४ हजार एकड क्षेत्रफल ध्वस्त भएको छ । लस एन्जलसको इतिहासमा यो सबैभन्दा विनाशकारी जङ्गलको आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

सुक्खा मरुभूमिको हावाले आगोलाई थप बल पुर्‍याइरहेको छ । निकै तीव्र गतिको हावाले आगोलाई अझ फैलाउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आउँदा ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च सङ्घीय सरकारले बेहोर्ने घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१ शुक्रबार ००:००  ९ : ४९ बजे