२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

बाणगंगा नगरको १६ औं नगरसभा, पारदर्शीता र सुशासनमा अब्बल भएको दाबी



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको १६औं नगरसभा सम्पन्न भएको छ । उक्त नगरसभा विहिबार नगरपालिकाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको हो । नगरसभामा प्रस्तुत गरिएका आर्थिक ऐन संशोधन, विनियोजन ऐन, स्वास्थ्य ऐन, नगर शिक्षा योजना, दुधमा आत्मनिर्भर प्रतिवेदन, सार्वजनिक महत्वको प्रस्तावहरु तथा विभिन्न निर्णयहरु सर्वसम्मत पारित भएको छ ।

नगरप्रमुख चक्रपाणी अर्यालले आर्थिक बर्ष २०८१-८२ मा स्वीकृत भई कार्यान्वयनमा रहेको नीति, कार्यक्रम र बजेटको हाल सम्मको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म कुल बजेट रु १ अर्ब २२ करोड ९५ लाख २४ हजारको आम्दानीतर्फ ४८.५ प्रतिशत तथा खर्चतर्फ १७.५ प्रतिशत प्रगति भएको बताए । उनले नगरपालिकालाई आत्मनिर्भर बनाउन राजस्व सुधार योजना अनुरुप करका दर र दायरालाई समय सापेक्ष बनाई आत्मनिर्भरतर्फको यात्रालाई अगाडी बढाउने बताए ।

उनले नगरपालिका भित्र सञ्चालन हुने लघु उद्योग, मध्यम र ठूला उद्योगहरु स्थापना र विस्तारमा सहजीकरण गर्ने बताए । नगरपालिकाको ब्राण्ड कायम गर्न कृषिमा आधुनिकीकरण, सीप विकासमा विविधीकरण तथा सेवा प्रवाहमा प्रविधिकरण गर्दै लगिने योजना रहेको सुनाए । नगरका गौरवका आयोजनाहरु क्रमशः पुरा गरी नागरिकलाई सन्तुष्टी प्रदान गर्ने उनको भनाई छ ।

नगरप्रमुख अर्यालले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याकन ‘लिजा’ मा प्रारम्भिक नतिजा अनुसार बाणगंगा नगरपालिकाले ९६.५ अंक प्राप्त गरी जिल्ला समन्वय समितिलाई पृष्ठपोषण तथा मूल्याङ्कनको लागि पठाईएको जानकारी दिए । उनले ९० प्रतिशत योजनाको बोलपत्र स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको बताए । उनले फोहोरमैला प्रशोधन केन्द्र स्थापनाका लागि आईईई रिपोर्ट अन्तिम चरणमा पुगेको बताए ।

सुशासन युक्त पूर्वाधार निर्माणमा प्राथमिकता दिदै रणनीतिक योजनाहरु कार्यान्वयन गर्दै टुक्रे योजनाहरुलाई निरुत्साहित गर्दै जाने उनले बताए । विगत वर्षदेखि व्यवस्थापन हुँदै आएका छाडा चौपायाहरुलाई व्यवस्थित गर्न अस्थायी टहरामा रहेका गाईहरु मधुवनमा भागिरथी गौशालामा क्रमशः स्थानातरण गर्दै अन्तर पालिका समन्वयमा उक्त क्षेत्रलाई गौ संरक्षण तथा एनिमल रिसर्च सेन्टरमा रुपान्तरण गरी गौ महोत्सव र आन्तिरक आय वृद्धिमा प्रभावकारी कार्य सम्पादन गर्दै जाने उनको भनाई छ ।

नगरप्रमुख अर्यालले बाणगंगामा हरेक बर्ष १ अर्व भन्दा बढी विकास खर्च भएको बताउँदै त्यसलाई जनताको समृद्धि र स्वरोजगारीसंग जोडिरहेको बताए । बाणगंगा नगरपालिका दुधमा आत्मनिर्भर बन्न लगेको बताउँदै उनले कृषिमा उत्पादन बढेको बताए । उनले बस पार्क निर्माणको लागि जग्गा प्राप्तिको तयारीमा रहेको बताए ।

‘हामीले भने जति काम गर्न सकेनौ होला, तर पारदर्शीता र सुशासनको क्षेत्रमा अब्बल तरिकाले काम गरेका छौं,’ उनले भने ।
उपप्रमुख रिता कुमारी चौधरीले यस आर्थिक बर्षमा जग्गा सम्बन्धी विवाद संख्या ८ वटा मध्ये ३ वटा फर्छयौट भएको र ३ वटा फछ्र्यौट प्रक्रियामा रहेको जानकारी दिईन् । उनका अनुसार घरेलु तथा महिला हिंसामा १ वटा, पति पत्नी, अंशबण्डा तथा घरेलु सम्बन्धी ६ वटा मध्ये ५ वटा फछ्र्यौट भएको छ भने १ वटा प्रक्रियामा रहेको छ । साँध सिमाना मिचिएको सम्बन्धी विवाद एउटा रहेको र उक्त विवादको फर्छयौटको प्रक्रियामा रहेको बताईन् । उनले हालसम्म पुनरावेदनमा कुनै मुद्दा नगएको बताईन् ।

उक्त कार्यक्रममा राजस्व आयमा उत्कृष्ट वडाका रुपमा वडा नं. ८ लाई घोषणा गर्दै सम्मानपत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा प्राविधिक शिक्षातर्फ देशमै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय जनता मावि पिपरालाई नगद १ लाखसहित सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त सम्मान विद्यालयका प्रधानाध्यापक रमेश पन्थीलाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २६ पुस २०८१ शुक्रबार ००:००  ९ : ४१ बजे