२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

ओलीले भने- पिलो निचोरिँदैमा वजन घट्दैन, ठूला कुरा गरे विन्दा र उषालाई पनि निकालिदिन्छु



काठमाडौँ ।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले बैठकको समापन गरेको हुन्।

बैठकमा केन्द्रीय सदस्यहरुले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माम गरेका थिए। जवाफमा ओलीले कारबाही पुर्नविचाररपुनरावलोकन नहुनेमात्र नभई उनीहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिए।

‘पिलो निचोरिँदैमा आफ्नो वजन नट्ने जवाफ दिँदै’ उनले पुनर्विचार नहुने बताएका छन्। त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने चेतावनी उनले दिएका छन्।

ओलीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘पिलो निचोरिँदैमा मेरो वजन घट्दैन। बिन्दा र उषाको प्रतिक्रिया हेर्दा ६ महिना पर्खिन थामिन सकिन्छ जस्तो लाग्दैन। अर्को बैठकमै पार्टीबाट बिदाको निर्णय हुन सक्छ। चम्केर बोल्ने र ?’

ओलीले विन्दा र उषा कहिल्यै पार्टीको पक्षमा नबोलेको बरु पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखे। ‘विन्दा र उषा पार्टीको पक्षमा कहिलै बोलेनन् तर पार्टीको विरुद्धमा मिडियामा, फेसबुकमा, टिभीमा, युट्युबमा धाउने, एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ ? ठुला कुरा गर्ने ?’ ओलीले भने।

ओलीले रावलको जिल्ला जाँदा कांग्रेसका नेताहरु फूलमाथि लिएर आएको तर उनी देखासमेत नपरेको भन्दै गुनासो गरे। ‘भीम रावललको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे तर उनी देखा समेत परेनन्,’ ओलीले अगाडि भने, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो।’

ओलीले रावलले आफूविरुद्ध गौरा पर्वमा १०-१२ जना लगाएर ‘केपी चोर देश छोड’ भन्ने नारा लगाएको दाबी गरे।

ओलीले आफ्ना सन्तान नभएकाले पैसा धन सम्पत्तिको आवश्यकता नरहेको बताए। आफूलाई पैसाको खाँचो नपरेकाले भ्रष्टाचार गर्ने कुरै नभएको उनको भनाइ थियो। ओलीले भने, ‘म सन्तान नभएकोलाई किन चाहियो पैसा ? म बिरामी मान्छे पनि हुँ कति बेला के हुन्छ थाहा छैन।’

प्रकाशित मिति : २४ पुस २०८१ बुधबार ००:००  ७ : ५९ बजे