अर्घाखाँची ।
अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर ३ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा कार्यरत चिकित्सक सहितको स्वास्थ्यकर्मी कार्यालय समयमा अनुपस्थित भएपछि नगरपालिका प्रशासनले उनीहरूसँग तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि सहित नगरपालिकाको निरीक्षण टोलीले हिजो आइतबार प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक छड्के अनुगमन गरेको थियो। निरीक्षणका क्रममा स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत, बरिष्ठ ल्याब असिस्टेन्ट, स्टाप नर्स, सिनियर अनमी, अहेब लगाएत स्वास्थ्यकर्मी ७ जना तथा कार्यालय सहयोगी र ह्सचा गरि ९ जना अनुपस्थित थिए ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकोले स्वास्थ्यकर्मीहरूको अनुपस्थितिले स्थानीयवासीको स्वास्थ्य सेवामा गम्भीर असर पारेको छ। नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने ठाउँमा एकै पटक ठुलो संख्यामा स्वास्थ्यकर्मीहरू नै अनुपस्थित हुनु गम्भीर लापरवाही हो। यो अवस्थामा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
सेवाग्राहीहरूले स्वास्थ्यकर्मीहरू नियमित रूपमा कार्यालय समयमा अनुपस्थित हुने गरेको गुनासो गरेका छन्। एक स्थानीयबासीका अनुसार, स्वास्थ्य केन्द्रमा उपचारका लागि जाँदा स्वास्थ्यकर्मी भेटिँदैनन्। सानो चोटपटक वा अन्य स्वास्थ्य समस्या लिएर टाढा जानुपर्ने बाध्यता छ।
चिकित्सक, नर्स लगाएतका स्वास्थ्यकर्मीहरूको कुनै जानकारी विना एकैपटक स्वास्थ्य केन्द्रमा नहुनु विषयलाई नगरपालिकाले गम्भीर रूपमा लिएको छ, नगर प्रमुख छविलाल पौडेलले बताए । नगरपालिकाले भविष्यमा यस्ता समस्याहरू दोहोरिन नदिन नियमित अनुगमन गर्ने र आवश्यक परे थप नीतिगत कदम चाल्ने योजना बनाएको छ।
स्वास्थ्य सेवा नागरिकको पहिलो आवश्यकता हो। यस घटनाले सरकारी सेवाप्रतिको उत्तरदायित्व र पारदर्शिताप्रति थप चासो उत्पन्न गराएको छ। नगरपालिकाको यो कदमले नागरिक सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया