२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

आज सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना



काठमाण्डौ ।

काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै मौसम बदली भएको हो । आज र भोलि पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बेलुकीदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै आज बेलुकीदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा पनि हल्का हिमपात हुने सम्भावना छ । वर्षा र हिमपातका कारण आज र भोलि चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । पर्सि बुधवारदेखि मौसममा सुधार आउने मौसमविद मानन्धरले जानकारी दिनुभयो ।

यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१ सोमबार ००:००  ८ : ४९ बजे