कपिलवस्तु ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभाले समृद्धिका निम्ति सहकार्य भन्ने मुल प्रकरणलाई अगाडी बढाउने निर्णय गरेको छ । सहकारीले संस्थाको आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम मार्फत समृद्धिको उडानमा दीर्घकालिन कार्ययोजना निर्माण गरेको हो ।
सिनर्जीले सहकारी बजार, कोशेली घर संचालन, कृषि उपज खरिद विक्री केन्द्र संचालन, उद्यमशिलता प्रवर्धन र उत्पादनमूलक कर्जा प्रवाहको क्षेत्रलाई मुख्य ५ प्राथमिकतामा अघि बढाएको संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेद्धारा सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ११ हजार सदस्य रहेकाे सिनर्जी सहकारीले विभिन्न क्षेत्रमा सहकार्य गरी सदस्यलाइ समृद्धिकाे यात्रा मुख्य एजेन्डा बनाएकाे हाे ।
उक्त योजना साधारण सभामा प्रस्तुत भई ४ वटै स्थानमा सम्पन्न एकाईगत सभाले पारित गरेको हो । अव सिनर्जी सहकारीले त्यही कार्ययोजना अनुसार आगामी वर्षमा ती ५ वटा क्षेत्रमा आवश्यक लगानी तथा कार्यक्रहरु संचालन गर्ने जनाएको छ ।
त्यस्तै संस्थाको आर्थिक बर्ष २०८१।०८२ को वार्षिक नीति कार्यक्रम तथा बजेट, आर्थिक बर्ष २०८०।०८१ को लाभांश वितरण, संस्थाको विनियम संशोधन, नीति तथा कार्यविधी संशोधन, आर्थिक बर्ष २०८१।०८२ को लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक, दीर्घकालिन सम्पत्ति खरिद एव् दीर्घकालिन ऋण लिने प्रस्ताव समेत सभाले पारित गरेको संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले बताउनु भयो । सभाले साधारण सभाको एकाई सभा र केन्द्रिय सभाको निर्णय प्रमाणिकरणका निम्ति प्रतिनिधी चयन लगायतका महत्वपूर्ण प्रस्तावहरु पारित गरेको संस्थाका उपाध्यक्ष कूलराज पौडेलले बताउनु भयो ।
साधारण सभामा लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले संविधानमा परिकल्पना गरिएको समाजवाद उन्मुख अर्थ ब्यवस्थाका निम्ति सहकारीको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै त्यसका निम्ति वस्तुनिष्ट कानून निर्माण आवश्यक रहेको धारणा राख्नुभयो । सांसद पंथीले सहकारी मार्फत थुप्रै राम्रा कामहरु भएको र रोजगारी श्रृजनामा सहकारीको भूमिका अर्थपूर्ण रहेको तर्क गर्दै सहकारी प्रतिको राज्यको दृष्टिकोण सच्चाउनु पर्नेमा जोड दिनुभयो ।
चारनम्बरको साधारण सभामा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा भित्रका सहकारीहरुको नियमन समयमै उचित ढंगबाट गरिएको बताउँदै सहकारी संस्थाहरुसंगको सहकार्यमा नगरपालिकाले जोड दिदैँ आएको स्पष्ट पार्नुभयो । नगर प्रमुख अर्यालले बाणगंगा नगर भित्रका सहकारी मार्फत नगरको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
प्रगतीनगर स्थित एकाईगत सभामा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले सहकारी मार्फत महिला सशक्तिकरण, सिप प्रवर्धन र महिलाहरुको रोजगारी श्रृजनामा सहकारीको भूमिका उल्लेख्य रहेको चर्चा गर्नुभयो । चार वटै स्थानमा संचालित सभामा सहकारी सम्बन्धी प्रशिक्षणात्मक विषय प्रस्तुत गरिएको थियो ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासेनी, सहकारी विकास बोर्डका निवर्तमान कार्यकारी सदस्य गुणानिधी भुसाल, लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेज प्रसाद आचार्यले वर्तमान समयमा सहकारीको भूमिकाका सन्दर्भमा सहजीकरण गर्नु भएको थियो । सभामा संस्थाले उत्कृष्ट कार्य गर्ने एक दर्जन बढी विधामा ५ दर्जन बढीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
संस्थाका सचिव कृष्णप्रसाद न्यौपानेले तयार पारेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समिती संयोजक डि.बी.रेश्मी मगरले तयार पारेको वार्षिक लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित भएका छन् ।
प्रतिक्रिया