२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

शुद्धोदन माविले स्वर्ण महोत्सव मनाउँदै, १ सय ११ सदस्यीय मुल आयोजक समिति गठन



बाबुराम रायमाझी, भलवाड ।

वाणगंगा नगरपालिका ९ मा रहेको शुद्धोदन माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारीस्वरूप विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिता कडेलले विद्यालयको इतिहास, प्रगति र आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले स्वर्ण महोत्सवलाई विद्यालयको शैक्षिक, भौतिक र सामाजिक विकासका लागि महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले विद्यालयको स्वर्ण महोत्सवलाई केवल भौतिक विकाससम्म सीमित नराखी समाजको सामाजिक परिवर्तन र समग्र शिक्षा प्रणालीमा गुणस्तर वृद्धि गर्न केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले किशोरकिशोरीहरूमा रक्तअल्पता, बाल पोषण, स्वास्थ्य र सरसफाइमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै, वाणगंगा नगरपालिकाले शिक्षा क्षेत्रमा अग्रणी स्थान बनाएको भन्दै विद्यालयको थप विकासका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वाणगंगा ९ का वडाध्यक्ष कमल पौडेलले शुद्धोदन माविलाई वडाको गहना भन्दै स्वर्ण महोत्सवलाई सफल बनाउन नगर र वडा तहबाट सबै प्रकारका सहयोग गर्ने बताउनुभयो। उहाँले कार्यक्रममा सहभागीहरूबाट आएका राय सुझावलाई महोत्सव आयोजनाका लागि मार्गदर्शन बनाइने धारणा व्यक्त गर्नुभयो।

स्वर्ण महोत्सवका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठमनसिंह थापाको संयोजकत्वमा १ सय ११ सदस्यीय मूल आयोजक समिति चयन गरिएको छ। त्यस्तै, वडाध्यक्ष कमल पौडेलको अध्यक्षतामा २५ सदस्यीय कार्ययोजना तथा समन्वय समिति गठन गरिएको छ।

कार्यक्रममा पूर्व वडाध्यक्ष धुर्ब बेल्बासे, वडा सदस्य चुरामणि अर्याल, समाजसेवी नारायण खनाल, धुर्ब रायमाझी, हरिराज घिमिरे, भुवनेश्वर पौडेल लगायतले स्वर्ण महोत्सवबारे आ–आफ्नो सुझाव राख्नुभएको थियो। यस अवसरमा वडाका संघरसंस्थाका प्रमुख, टोल विकास संस्थाका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका रामप्यारी पौडेलले गर्नुभएको थियो। सहभागीहरूले स्वर्ण महोत्सव विद्यालयको मात्र नभई समुदायको साझा उपलब्धि भएको बताउँदै यसको सफलताका लागि सहकार्य गर्न प्रतिबद्धता जनाएका छन्।
विद्यालयले स्वर्ण महोत्सवलाई केवल उत्सवको रूपमा नभई शैक्षिक सुधार र समाज रूपान्तरणको अवसरका रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ पुस २०८१ आइतबार ००:००  ८ : ५७ बजे