२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

इजरायली आक्रमणमा गाजामा तीन दिनमा २०० जनाको मृत्यु



एजेन्सी ।
इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा पछिल्लो तीन दिनमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालकालिका रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन् ।

प्यालेस्टिनी हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले समूह ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको जनाएको छ । आक्रमणमा दर्जनौं घाइते भएको जनाइएको छ । आईडीएफले गाजालाई लक्ष्य गरी निहत्था नागरिक र आवासीय क्षेत्रमा आईडीएफले ‘खतरनाक र क्रूर’ आक्रमण गरेको जनाएको छ ।

ज्यान गुमाएका तथा घाइते भएहरूमध्ये अधिकांश भग्नावशेषमा फसेका र क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पताल पुर्‍याउन बाधा पुगेको छ ।

प्यालेस्टानी समूह हमासले सन् २०२३ अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध सुरू भएको हो । आक्रमणमा कम्तीमा १२ सयको ज्यान गएको थियो । त्यसका साथै, हमासले करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।

युद्धका कारण ४५ हजारभन्दा बढी प्यालेस्टिनीका ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीका अनुसार अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार छ । यसको अर्थ हरेक ३० मिनेटमा एक बालबालिकाले ज्यान गुमाउने गरेका छन् ।

दुई पक्षबीच केही सातायता अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम सम्झौताका लागि पहल भइहरेको छ । कतारको दोहा तथा इजिप्टको कायोरोमा भएका वार्ता सहमतिमा पुग्नै लागेको बताएको थियो । तर पछिल्ला आक्रमणले भने वार्ताको वातवरण बिथोलिने चिन्ता थपिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१ आइतबार ००:००  ३ : ५६ बजे