काठमाडौं ।
बोर्डर–गाभास्कर ट्रफीको अन्तिम खेलमा पाहुना टिम भारतविरुद्ध ६ को विकेटको जित निकाल्दै अस्ट्रेलियाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान निश्चित गरेको छ । अस्ट्रेलियाले पाँच खेलको टेस्ट शृंखला ३–१ ले जितेको हो ।
पाँचौँ खेलमा भारतले दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको दोस्रो इनिङमा उस्मान ख्वाजाले सर्वाधिक ४१ रन बनाए । बेउ वेबस्टेरले ३९, ट्राभिस हेडले ३४ र साम कोस्टासले २२ रन थपे ।
भारतका प्रसिद्ध कृष्णाले तीन विकेट लिए पनि टिमको हार टार्न सकेनन् । अर्को एक विकेट मोहम्मद सिराजको नाममा रह्यो ।
त्यसअघि, भारतले पहिलो इनिङमा १८५ रन बनाएको थियो । अस्ट्रेलियाले पनि पहिलो इनिङमा १८१ रन मात्र बनाएको थियो । दोस्रो इनिङमा भारत १५७ रनमा समेटिएपछि अस्ट्रेलियाले जितका निम्ति १६२ रनको लक्ष्य पाएको थियो ।
जितसँगै टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया