२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

तम्घासमा रेसुङ्गा चिनाउने मुराल



गुल्मी ।
गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचारप्रसार गर्ने उद्देश्यले तम्घास बजार क्षेत्रमा रंगीन भित्तेचित्र (मुराल) कोरिएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा रेसुङ्गाको महिमा र महत्व झल्किने कलात्मक चित्र कोरिएको हो ।

नगरपालिकाले गतवर्षदेखि रेसुङ्गामा एक लाख बढी पर्यटक पुर्याउने उद्देश्यले ‘जाउँ हिँड रेसुङ्गा’ अभियान चलाएको छ । अभियान अन्तर्गत नगरले पर्यटन प्रवद्र्धनका कार्यहरु अगाडि बढाएको छ । सोही अन्तर्गत अहिले तम्घास बजारमा रेसुङ्गा क्षेत्रका मन्दिरहरुसँगै तपस्या गरेका ऋषि महर्षिहरुको वालपेन्टिङ गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋषिमुनीहरुको तपस्या स्थलको रुपमा रेसुङ्गाको चर्चा हुने गर्दछ ।

सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडिको यात्रापछि रेसुङ्गा पुगिन्छ । रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक पनि कालोपत्रे भएकाले यात्रा सहज भएको छ । माघ महिनामा मकर मेला लाग्नु अघि रेसुङ्गामा विभिन्न मन्दिरहरुसँगै पैदल मार्ग पनि निर्माण गरेर चिटिक्क पारिएको छ ।

रेसुङ्गा धार्मिक आस्थाको केन्द्रमात्र नभई २५८ प्रजातिका चराहरुको बासस्थान र जैविक विविधतामा पनि धनि छ । भित्तेचित्रमा रेसुङ्गा जंगल र त्यहाँ पाइने जंगली जनावर पनि समेटिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१ आइतबार ००:००  १० : २१ बजे