२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

बाणगंगा नगर भित्रका सहकारी सबल र स्थापित छन् : मेयर अर्याल



हरि अधिकारी, कपिलवस्तु ।

कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगर भित्रका सहकारी संस्था सबल र स्थापित भएकाले ढुक्क भएर निक्षेप संकलन गर्न जोड दिएका छन् ।

नगरपालिकाले निक्षेपको सुरक्षाका साथै नियमित अनुगमन गरी सहकारी क्षेत्रलाई विश्वासिलो बनाएकोले सदस्यलाई ढुक्क हुन आग्रह समेत गरे । हाल नगरपालिकामा ६१ वटा सहकारी क्रियाशील भई ३ अर्ब ऋण प्रवाह र ४ अर्ब निक्षेप संकलन गरिरहेको नगर प्रमुख अर्यालले जानकारी दिए ।

शनिबार चारनम्बरमा आयोजित सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताएका हुन् ।

‘सहकारीहरुको नियमन संगै समन्वय, सहकार्य र पारदर्शिताका कारण यहाँका सहकारी बलिया र स्थापित भएको बताउदै उनले भने’, ‘एक लाख जनसंख्या भएको बाणगंगामा ५६ हजार ८ सय सहकारी शेयर सदस्य हुनु महत्वपूर्ण उपलब्धी हो। ६१ सहकारीहरु मध्ये ११ वटा सहकारीले प्रदेशको कार्यक्षेत्रलाई समेटेका छन्।’

सहकारीहरूले स्वरोजगार र रोजगारीको सिर्जना गर्दै आर्थिक परिचालनमा महत्वपूर्ण भूमिका खेलेका छन् । पुँजी निर्माण र परिचालनमा सहकारीहरू स्थानीय सरकारका लागि मेरुदण्ड बनेका छन् उनले भने। आफ्नो पुँजी आफैं परिचालन गरेर, आफैं मालिक बन्नु सहकारीहरूको विशेषता हो ।

नगरको नियमनमा रहेका सहकारीहरुलाई नियमित अनुगमन र व्यवस्थित बनाउन नगरपालिकाले धेरै काम गरिरहेको जानकारी दिदै नगर प्रमुख अर्यालले भने- ‘हाल ७ वटा सहकारी संस्था खराव सूचीमा छन्, ती सहकारीलाई सुधार गर्ने प्रयास भइरहेको छ ।’

अव नगर भित्र धेरै सहकारी संचालन गर्नुभन्दा एउटै उद्देश्य भएका सहकारीहरूलाई मर्ज गरेर व्यवस्थित र सबल बनाउनु पर्ने सुझाव दिएकाे नगर प्रमुख अर्यालले बताए । यसले सहकारीहरूलाई अझै सशक्त र प्रभावकारी बनाउने विश्वास गरिएको छ। नगरपालिकाले बाहिरबाट आउने सहकारी संस्थाहरूमा भरोसा नगरी आफ्ना स्थानीय सहकारीहरूको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

सहकारीहरुले यस क्षेत्रमा स्थापित बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गरेर आफुलाई सक्षम तरिकाले उभ्याउन सफल भएको उनले बताए । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था नगरकाे गौरव कै सहकारी भएको चर्चा समेत गरे । जसले उत्पादनशीलता र रोजगारीमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

सहकारीका उपाध्यक्ष कुलराज पौडेलले हाल सहकारीले ७ स्थानबाट सेवा प्रवाह गरिरहेको बताए । उनले सहकारीका योजना सुनाउँदैं अबको केही महिनामै चारनम्बर क्षेत्रमा सहकारी बजार र सहकारी कोसेली घर स्थापना गर्ने तयारी रहेको बताए । उनले त्यसका लागि आवश्यक पुर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको बताए । वार्षिक साधारण सभामा चारनम्बर जीतपुर कलष्टर संयोजक शंकर पाण्डेले सहकारीको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा असल बचतकर्ता, असल ऋणी, विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यलाई सम्मान समेत गरिएको थियो । साधारण सभा ईश्वरराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २० पुस २०८१ शनिबार ००:००  ९ : २६ बजे