बाबुराम रायमाझी, जितपुर ।
वाणगंगा नगरपालिका १ मा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा सहकारीको प्रगतिका साथै राज्यको सहकारी नीतिबारे विविध विषयमा छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा सांसद विष्णु पन्थीले सहकारीका सकारात्मक पक्षहरूमाथि चर्चा गर्दै मुलुकमा सहकारीका नाममा भएका अनियमितताहरूले बदनामी गरेकोमा खेद व्यक्त गरे। उनले वाणगंगा नगरमा भने सहकारीहरूले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै लुम्बिनी प्रदेशमै सिनर्जी सहकारीले उत्कृष्ट योगदान पुर्याएको प्रशंसा गरे। साथै, सहकारी सम्बन्धी अध्यादेशले सहकारी रकम अपचलन गर्नेलाई झनै सहयोग पुर्याएको भन्दै अध्यादेशलाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सहकारीहरू राज्यका तीन खम्बे आर्थिक नीतिको महत्वपूर्ण अंग भएको बताए। उनले सहकारीहरूको लगानी विशेषतः उत्पादन क्षेत्रमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहकारी शिक्षा व्यवहारमा लागू गर्न नगरपालिका कार्यालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। किसानका कृषि उपजलाई सहकारीमार्फत खरिद गरी बजारीकरणको प्रयासलाई धन्यवाद दिदै, मरासिनीले संस्थाको प्रगतिप्रति प्रशंसा व्यक्त गरे।
साधारणसभामा संस्थाले आफ्ना सदस्य र योगदानकर्ताहरूलाई सम्मानित गरेको छ ।
सहकारीले जेष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणी, लघु उद्यमी, बाल बचतकर्ता, शैक्षिक उपलब्धि हासिल गर्ने शेयर सदस्यका छोराछोरीलाई दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका भलवाड क्लस्टर संयोजक धुर्ब बेल्बासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। लेखा सदस्य कृष्णप्रसाद पाण्डेले आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब रुपैयाँ बराबरको आय-व्यय विवरण सार्वजनिक गरेका थिए।
संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेले संस्थाका नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै, हाल सिनर्जी सहकारीमा ११ हजार शेयर सदस्य आबद्ध रहेको र आगामी दिनमा १५ हजार सदस्य पुर्याउने लक्ष्य रहेको बताए।
साधारणसभामा संस्थाले आफ्ना शेयर सदस्यहरूको आवश्यकतामा केन्द्रित रही दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउन सस्तो पसल सञ्चालन गरिरहेको जानकारी गराइएको थियो।
साधारणसभा वाणगंगा नगरपालिकाको बनगाई, बोडगाउँ, जितपुर, र हथौसामा एकै समयमा सम्पन्न गरिएको संस्थाले जनाएको छ।
साधारणसभाले सहकारीका उपलब्धिहरूलाई अझ विस्तार गर्दै सदस्यहरूको जीवनस्तर उकास्न थप योजना ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया