खजुरा ।
नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा मध्य पुसदेखि सुरु भएको चिसो बढ्दै गएको छ । केही दिनदेखि शीतलहरसमेत पर्न थालेपछि यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको हो ।
चिसोबाट प्रायः गरेर दैनिक रूपमा ज्यालादारी गरेर हातमुख जोड्ने मजदुर, ठेला तथा रिक्सा चलाएर दैनिकी जीवन गुजारा गर्ने वर्ग, बालबालिका, वृद्धवृद्धा तथा विद्यार्थी बढी प्रभावित भएका छन् । केही दिन अघिदेखि चिसो र जाडो बढे पनि शीतहलरको प्रभाव थिएन तर शीतलहर समेत पर्न सुरु भएपछि भने दैनिकी कार्यमा सर्वसाधारणलाई असहज हुँदै गएको छ ।
शीतलहरका कारण नेपालगन्जका सडकहरू पानी परे जस्तै गरी भिजेका छन् । चिसोबाट बच्नका लागि नागरिकहरूले ठाउँठाउँमा आगो बालेर ताप्दै गरेको देख्न सकिन्छ । शीतलहरसँगै बाक्लो हुस्सु लागेका कारण सवारी साधनहरूलाई आवतजावत गर्न समेत समस्या भएको छ ।
जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिबार बिहान ८ः४५ बजे नेपालगन्जको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको बताउनुभयो । उहाँका अनुसार बिहीबार नेपालगन्जको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो भने शुक्रबारको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको थियो ।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी एवम् इमेर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले चिसोका कारण बढी जसो बालबालिका र वृद्धवृद्धामा जोखिम हुने बताउनुभयो । “चिसोले गर्दा प्रायः गरेर बालबालिका र वृद्धवृद्धामा जोखिम रहन्छ, बढीजसो बालबालिका र वृद्धवृद्धाहरू समस्या लिएर उपचारका लागि अस्पताल आउने गर्नुभएको छ ।” डा। रिसालले भन्नुभयो ।
डा। रिसालका अनुसार बालबालिका तथा वृद्धवृद्धाहरूमा निमोनिया, दम, छातिको समस्या, फोक्सो र श्वासप्रश्वासका समस्या लिएर उपचार गर्नका लागि अस्पताल आउने गरेका छन् । डा. रिसालले भन्नुभयो, “प्रायः गरेर बालबालिका र वृद्धवृद्धामा चिसोका कारण धेरै समस्या देखिएपनि अन्य उमेर समुहका नागरिकहरू पनि सचेत हुनुपर्छ, सबैलाई चिसोले असर गर्छ ।”
अत्यन्तै जरुरी काम परे मात्र घरबाहिर निस्कने, शरिर पुरै छोप्ने गरी न्यानो कपडा लगाउने, घरमा बस्दा पनि तातो पानी तथा झोलिलो पदार्थहरू अत्यधिक पिउने तथा शीतलहर तथा अत्यन्तै चिसोमा वनभोज, पिकनिक तथा भ्रमण जस्ता कार्य नगर्दा उचित हुने डा. रिसालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शीतलहर तथा चिसोबाट नागरिकलाई जोगाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयसमेत गरिएको छ ।
“चिसो तथा शीतलहरबाट नागरिकलाई जोगाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरेका छौँ ।” प्रजिअ रिजालले भन्नुभयो, “डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयलाई न्यूनतम दररेटमा दाउरा उपलब्ध गराउन अनुरोध गरेका छौँ, जिल्लाका सम्पूर्ण स्थानीय तहलाई दाउराको व्यवस्थापन गर्नका लागि समेत अनुरोध गरेका छौँ ।”
चिसोबाट नागरिकलाई जोगाउनका लागि अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई न्यानो कम्बलसमेत वितरण गरिने तयारी गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया