काठमाडौं ।
चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।
हुस्सु र सिरेटोसँगै बढेको चिसोले बजार तथा कार्यालयहरुमा चहलपहल घटेको छ । अस्पतालहरुमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । नागरिकलाई चिसोबाट बचाउन प्रदेश र पालिका सरकारले प्रभावकारी काम गर्न नसकेको पीडितको गुनासो छ । तर मधेश प्रदेश सरकारले राहत पठाउने र जनचेतना बढाउने काम भइरहेको दाबी गरेको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्र कुमार यादवले सबै जिल्लामा कम्बल पठाएको जानकारी दिनुभयो । नेपाली सेनामार्फत सबै जिल्लाहरुमा कम्बल पठाइएको र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन कार्यालयले पालिकासँग समन्वय गरेर वितरण गर्ने उहाँको भनाइ छ ।
चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।
यो हप्ताको शुरूदेखि नै तराईका धेरै ठाउँमा बाक्लो हुस्सुसँगै सिरेटो चल्न थालेको हो । तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।
पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ । अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया