बाँके ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माण कार्य सकिएको छ ।
आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई २०६२/६३ देखि भौतिक निर्माणको काम शुरू भएको थियो । आयोजना शुरू भएको १९ वर्षपछि आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।
सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९/९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्याइएको छ ।
आयोजना शुरू भएदेखि चालु आर्थिक वर्षको मङ्सिरसम्ममा २१ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदा वित्तीय प्रगति ४० प्रतिशत र भौतिक प्रगति ४१ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो ।
इञ्जिनियर पोखरेलका अनुसार अगैयामा रहेको राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ ।
पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ ।
४२ हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको पुगेको उहाँले जानकारी दिनुभयो ।
३३ हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको छ भने नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ ।
त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।
राष्ट्रिय गौरवको आयोजना भएता पनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानूनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ । रासस
प्रतिक्रिया