कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-९ भर्तापुरकी ६ वर्षीया बालिका माहिरा विश्वकर्मा पछिल्लो ६ महिनादेखि क्यान्सर रोगसँग लडिरहेकी छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा हाल समस्या भएको छ ।
वडा नम्बर- ९ भर्तापुरस्थित मनु बिश्वकर्माकी ६ बर्षीया छोरी माहिरा बोनम्यारो क्यान्सरबाट पीडित भएकी हुन् । उनको हाल काठमाण्डौस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।
बिगत ६ महिनादेखि विभिन्न अस्पतालहरुमा उपचार गर्दा रोग निको नभई हाल पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको उनका परिवारले बताएका छन् । माहिराको उक्त रोगको उपचारका क्रममा हालसम्म ३० लाख भन्दा धेरै रकम खर्च भएको र पारिवारिक स्थिति थप जटिल बन्दै जाँदा उनको उपचारमा समस्या भएको छ ।
उपचारका क्रममा हाल दिनहुँ जसो रगत दिनुपर्ने र थप उपचारका लागि जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्न छिमेकी देश भारतमा लैजान चिकित्सकले सुझाएपछि बालिकाका परिवार अहिले थप चिन्तामा परको छन् ।
उनका बुवा मनु भन्छन्, ‘छोरीको उपचार गर्न आफ्नो बसैथोक लगाउँदा पनि नसक्ने स्थिति भयो, ‘अब सबैले सहयोग गरे छोरीलाई बचाउन सकिन्छ भन्ने लागेको छ ।’
थप उपचारका लागि भारत लैजान आफ्नो आर्थिक स्रोतले नपुग्ने उनले बताए ।
छोरीको उपचारका ठूलो रकम खर्च भइसकेका कारण थप उपचारमा आफ्नो आर्थिक अवस्था कमजोर भएका विश्वकर्मा परिवारले दाताहरूसँग सहयोग मागेका हुन । उद्योगी व्यापारी बुद्धिजीवी, नागरिक समाज लगायत सहयोग दिन सक्ने सबैपक्षसँग उनले आफ्नो छोरीको जीवन रक्षाको अनूनय गरेका छन् ।
सहयोग गर्न इच्छुकहरूले बालिकाको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. २५६५७५१४९६३८५००१ मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन ९८६६५६३८१४ मा बिरामीको आमा रुपा सँग पनि सम्पर्क गर्न सकिने छ ।
बाल्यकालमै जटिल रोगसँग अस्पतालको शैयामा लडिरहेकी महिराको उपचारमा आर्थिक सहयोग जुटानउ सके उनी रोगमुक्त हुने र नयाँ जीवन पाउने परिवारको आशा छ । बोनम्यारो ट्रान्सप्लान्ट गर्दा समेत अझै ठूलो रकम लाग्ने चिकित्सकले बताएपछि परिवार थप आर्थिक तनाबमा परेका छन् ।
सुरुमा समान्य लडेर खुट्टा फ्याक्चर भएकी माहिराको अन्ततः क्यान्सर पुष्टि भएको परिवारले बताए ।
प्रतिक्रिया