२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

परालको गुन्द्री-चकटी बुन्ने परम्परा हराउँदै



गुल्मी ।

पछिल्लो समय गाउँ घरमा परालको गुन्द्री र चकटी बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो ।

पुस, माघ, फागुन चैत महिनामा तान लगाएर परालको गुन्द्री र चकटी बुन्ने प्रचलन रहेकोमा अहिले गुल्मी जिल्लामा त्यो परम्परा हराउँदै जान थालेको छ । हिन्दु संस्कारमा चोखो कार्यमा परालको गुन्द्री आवश्यकता पर्छ ।

गुन्द्री बुन्न पराल र बाबियोको तानाले बुन्ने प्रचलन पनि थियो । तर, अहिले बजारमा पाइने जुटको रसी र पराल मिलाएर बुन्ने प्रचलन रहेको छ ।

परम्परागत हिसाबले गुन्द्री बुन्दा समय ९परिश्रम० धेरै लाग्ने, महंगो पर्ने र बजारमा सजिलै प्लास्टिकका गुन्द्री पाइने भएकाले गुन्द्री बुन्ने प्रचलनमा कमी आएको गुल्मी इस्मा २ की मनिकला मुखियाले बताइन । निरन्तर बुनेमा एकदिन मै एउटा र आधा सम्म गुन्द्री बुन्न सकिन्छ ।

तर, अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । गाउँ घरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्ख्यौली सिप, हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको इस्मा–१ की शान्ती खत्रीले बताइन् ।

गुन्द्री बुन्ने प्रचलन हराउदै जान थालेकाले अब त्यसको संरक्षण र व्यवसायी करणका लागि कसैले पनि चासो दिइएको पाइँदैन । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सिप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको संख्या निकै कम छ ।

नेपाली समाजमा विवाह गरेको घर तथा कोही बितेको एक वर्ष नपुगेसम्म गुन्द्री बुन्न नहुने धार्मिक परम्परा रहिआएको छ । पहिले हातने ताना बाटेर समेत गुन्द्री बुन्ने प्रचल अहिले पूरै हराउँदै गएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१ बिहिबार ००:००  ८ : ३० बजे