काठमाडौँ ।
एमालेबाट बर्खास्तीमा परेका भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।
उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।
उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपर्थ्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उनले भने । देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको बताए ।
प्रतिक्रिया