१७ पुस २०८१, बुधबार | Wed Jan 1 2025

गहुँखेतीमा जिरो टिल प्रविधि



कपिलवस्तु ।
खर्चको कटौती गरी लागत घटाउन कपिलवस्तुमा जिरो टिल (शून्य खनजोत) प्रविधिद्वारा गहुँको बिउ छर्न सुरु गरिएको छ।

जिल्लामा धानपछि गहुँखेती बढी गर्ने गरिएको छ। ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) को सहयोगमा कपिलवस्तुको विभिन्न सात स्थानमा कृषहरूको खेतमा जिरो टिल प्रविधिद्वारा गहुँ छरिएको छ।

कपिलवस्तु नगरपालिका–११ अरौरामा कृषक रामदास यादवको ११ कट्ठा खेतमा पहिलो पटक नमुनाका रूपमा जिरो टिल प्रविधिद्वारा गहुँको बिउ छरिएको छ। जिंक ११ जातको गहुँ छरिएको हो। धान काटेपछि अहिले गहुँ छर्न पर्याप्त चिस्यान छ।

कृषक यादवले आफ्नो खेतमा पहिलो पटक नमूनाका रूपमा जिरो टिल प्रविधिमार्फत गहुँ छरिएको बताए। आरआरएनको सहयोगमा भाडाको जिरो टिल छर्ने मेसिनले गहुँ छरिएको उनले बताए। ‘नमूनाका रूपमा खेतमा जिरो टिल प्रविधिले पहिलो पटक गहुँको बिउ छरेको छ,’ उनले भने, ‘खनजोत नगरी मेसिनको सहयताले एकै पटक बिउ छर्दा लागत कम लागेको छ। उत्पादन राम्रो भए आफूले आगामी वर्षदेखि सबै खेतमा यही प्रविधिले गहुँ छर्ने बताए। जिरो प्रविधिले गहुँ छर्दा गाउँका अन्य कृषकहरूसमेत खेतमा हेर्न आएका थिए।

यो प्रविधि गहुँ खेतीका लागि उपयुक्त रहेको डब्लुएचएका उत्तम शर्माले बताए। यो प्रविधिले गहुँ खेती गर्दा लागत मात्र कम नभई माटाको गुणस्तरीयतासमेत कायम हुने उनले बताए। यसले जलवायु परिवर्तनले हुने असर कम गर्ने बताए।

जिल्लामा अधिकांश कृषकले खेत खनजोत गरेर मात्र गहुँ लगाउने गरेका छन्। आरआरएनका जिल्ला संयोजक गान्धीराज शर्माले कृषकहरूलाई आधुनिक प्रविधितर्फ उन्मुख गरी खर्चमा कटौती गरी उत्पादनमा वृद्धि गर्न यो प्रविधि नमूनाका रूपमा ल्याएका हौं। उनले जिल्लाका विभिन्न सात स्थानमा यो प्रविधिले नमूनाका रूपमा गहुँ छरिएको बताए।

प्रकाशित मिति : १४ पुस २०८१ आइतबार ००:००  ३ : ०६ बजे