बुटवल ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा सडक किनारमा रहेका करिब तीन सय बरपिपलका चौतारी मासिने भएका छन् । ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा सडक क्षेत्रभित्र परेपछि काट्नुपर्ने करिब सात हजार रुखमध्ये तीन सय बरपिपलका चौतारीसमेत परेका छन् । सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिइसकेको छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रमुख कुशलता न्यौपानेले करिब सात हजार रुख काटिँदा सडक किनारमा रहेका बरपिपलका रुखसमेत काटिने बताउनुभयो । वन तथा वातावरणविज्ञ युवराज कँडेलले बुटवल–गोरुसिङ्गे सडकखण्डमा करिब तीन सय बरपिपल र स्वामीका चौतारीसमेत मासिने स्थलगत अध्ययनका क्रममा पाइएको बताउनुभयो ।
उहाँले धार्मिक तथा मानव जीवनको स्वास्थ्यका लागि पनि महत्वपूर्ण मानिएका बरपिपल र स्वामीका चौतारी मासिँदा वातावरण संरक्षणका दृष्टिले ठुलो हानि हुने बताउँदै मासिएका बरपिपल र स्वामी सडक संरचनाभन्दा बाहिर पर्ने गरी लगाउन आग्रह गर्नुभयो ।
उता बुटवल–गोरुसिङ्गे सडक आयोजनाले भने सात हजार रुख काटिँदा त्यसको १० गुना बढी ७० हजार रुख रोप्ने जनाएको छ । ती रुख कहाँ लगाउने भन्ने विषयमा अझै टुङ्गो लागेको छैन ।
आचार्य विष्णु ज्ञवालीले धार्मिक हिसाबले बरपिपल अत्यन्त महत्वपूर्ण रहेको बताउँदै हिन्दुले बरपिपललाई भगवान् विष्णुका रूपमा पूजा गर्दै आएकाले काट्नुभन्दा पनि बरपिपलको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । तराईमा गर्मीको समयमा शीतलका लागि सडक किनारमा बाबुबाजेले बरपिपलका चौतारी निर्माण गरेको बताउँदै ज्ञवालीले पिपलले त अक्सिजनसमेत दिने भएकाले यसको संरक्षण मानव जीवनका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
माघदेखि निर्माण कम्पनीले सडक विस्तारका क्रममा सडक खन्ने काम सुरु गर्ने भएको छ । अहिले निर्माण कम्पनीले सर्वे, माटो परीक्षण, रुख कटानको तयारीलगायतका काम गरिरहेको छ । राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तार हुन लागेको हो । आयोजना प्रमुख न्यौपानेले पहिले दायाँबायाँ सडकको काम सकिएपछि मात्रै बिचको कालोपत्रे भत्काउने बताउनुभयो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । ५० किलोमिटर सडक दुई चरणमा २५-२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो ।
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छन् । सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ । यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौता छ । -गोरखापत्रबाट
प्रतिक्रिया