१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

सुदूरपश्चिम र कर्णालीमा वर्षा, उच्च क्षेत्रमा हिमपात



हुम्ला ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । कतिपय ठाउँमा पानी पनि परेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा पानी परेको हो ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ । हुम्लाको सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ ।

हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयवासी गौगोरा बोहराले बताउनुभयो । यति बेला परेको हिउँले जेठासी बाली अर्थात् उवा, जौ, गहुँ राम्रो हुने भएकोले किसान खुशी भएका छन् । हिउँ हुम्लाका किसान लागि सिँचाइको मुख्य स्रोत हो ।

हिमपातले चिसो पनि बढेको छ । हुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस छ । चिसोका कारण स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।

हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । भोलि दिउँसोदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
रासस

प्रकाशित मिति : १३ पुस २०८१ शनिबार ००:००  १२ : ३४ बजे