१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

शिवराजका मेयर सामु बालिकाले भने- ‘पढ्न पाएनौं, बालविवाह रोकिदिनु पर्‍यो’



दीपा महत, चन्द्रौटा (थुन्हिया) ।

कपिलवस्तुमा अझैपनि बालविवाहका घटना हुने गरेको पाइएको छ । शुक्रबार शिवराज नगरपालिका ११ थुन्हियामा भएको बालबालिकासंग नगरप्रमुख कार्यक्रममा सहभागी बालबालिकाले उक्त कुरा बताएका हुन् । सहभागी बालबालिकाले जनचेतनाको अभावको कारण कतिपय बालिकाले पढ्ने इच्छा हुँदाहुँदै पनि विवाह गरेर जानुपरेको भन्दै जनचेतना जगाउन नगरप्रमुख अजय थापा समक्ष आग्रह गरे ।

नगर प्रमुख थापा सामु उनीहरुले विभिन्न कारण देखाउँदै अझैपनि घरपरिवारले बालविवाह गरिदिने गरेको खुलेरै बताए । बाहिर यस्तो कुरा ल्याउँदा घरपरिवारको इज्जत जाने डरले आफ्ना पीडा कसैलाई भन्न नसकेको शिवराजकी एक किशोरीले दुखेसो पोखिन् ।

उनले नगरप्रमुख थापा समक्ष भावुक हुँदै ‘भनिन् मेरो पढ्ने इच्छा छ, तर घरपरिवारले मेरो विवाह गरिदिनुभयो, म पढ्न चाहन्छु ।’ किशोरीको यो समस्या सुन्दा आफूलाई धेरै दुख लागेको भन्दै नगरप्रमुख थापाले बालविवाह गरिदिने अभिभावकलाई कारवाही गर्ने चेतावनी दिए ।

बालविवाह सामाजिक अपराध भएको भन्दै यस किसिमको अपराध गर्ने कसैले पनि उन्मुक्ति नपाउने बताए । बालविवाहमा सरिक हुने सबैजना दण्डका हकदार भएको भन्दै यस किसिमको कार्य नगर्न सबैलाई अनुरोध गरे । साथै किशोरीको समस्यालाई पनि छिटै समाधान गर्ने आश्वासन दिए । समाजमा बालविवाह, हिंशा लगाएतका घटना भएमा ९८६४५७९७४०, ९८६७०३६३५८ र ९८४६९३८०६९ मा सम्पर्क गर्न पनि मेयर थापाले आग्रह गरे ।

कार्यक्रममा सहभागी अन्य बालबालिकाले विद्यालयका समस्यादेखी व्यक्तीगत समस्या मेयरलाई जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय सुमन चौधरीले आफ्नो विद्यालयमा पुस्तकालय, शौचालय तथा भौतिक संरचना पनि जिर्ण रहेको बताइन् । यसैगरी शिवम चौधरी, पुजा नाँउ, अप्रोजन अन्सारी, मोहम्मद हकिम मुसलवानले पनि विद्यालयमा खानेपानीको उचित ब्यवस्थापन, खेलमैदान, कम्पूटर ल्याब, प्रयोगशालाको माग गरेका थिए ।

कार्यक्रममा सहभागी किशोरकिशोरीको सवालको जवाफ दिदैँ मेयर थापाले नगरपालिकाले सबै विद्यालयको अवस्था तथा आवश्यक्ता हेरेर सोही बमोजिम काम गरिरहेको बताए । अहिले सित्लापुरमा ४ कोठे भवन निर्माण गरेको भन्दै कसैको पनि पहुँच, भनसुन तथा राजनैतिक दबाबमा काम नगर्ने स्पष्ट पारे । यसैगरी सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि विभिन्न योजना बमोजिम काम गरिरहेको बताए ।

घोकन्ते शिक्षा भन्दा पनि ब्यवहारिक शिक्षामा जोड दिएको भन्दै पढ्दै कमाउँदै लगायतका कार्यक्रमहरु पनि योजनामा राखेको बताए साथै सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले आफ्ना सन्तानलाई नीजि विद्यालयमा पढाउने गरेको सन्दर्भमा मेयर थापाले आफुले दिने शिक्षामा आफै विश्वास गर्नुपर्ने औल्याए ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, शिवराज नगरपालिकाको सहकार्य तथा एक्सनएड नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय विकास कार्यक्रमका कार्यक्रम संयोजक अजय चौधरी, विद्यालयका शिक्षक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ पुस २०८१ शनिबार ००:००  ९ : ४५ बजे