काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
आज काठमाण्डौमा कोटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जा आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद रहेको बताउनुभएको हो । उहाँले अहिले दुई तिहाइको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताउनुभयो ।
यस्तै मेयर शाहले मुआब्जाका लागि पालिका सरकार र सङ्घ सरकारलाई दबाब दिन जग्गाधनीहरूलाई सुझाव दिनुभयो । उहाँले तीनकुनेको जग्गा सरकारले लुटेर राखेको भन्दै कुनै नेताले प्रक्रिया अघि बढिरहेको भनेमा नपत्याउन आग्रह गर्नुभयो ।
मेयर शाहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया