१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

दुवै प्रदेशको विकासका लागि कर्णाली-लुम्बिनीको साझा प्रतिबद्धता



सुर्खेत ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। दुई मुख्यमन्त्रीले सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्त आत्मसात् गरि दुई प्रदेशको अन्तरआबद्धतासँगै सहकार्यलाई सुदृढ गर्ने साझा प्रतिबद्धता गरिएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए।

कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको समग्र विकास, समृद्धिका लागि कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच १९बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको छ।

प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने साझा प्रतिबद्धता भएको छ।

त्यसैगरि प्रदेश कानूनबमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने सहमति भएको छ।

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारका तर्फबाट संघीय सरकारसमक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तहसमेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने गर्ने साझा प्रतिबद्धता जनाइएको छ।

अन्तर–प्रदेश आबद्ध भएका सडक पूर्वाधार निर्माणका लागि आवश्यकताका आधारमा संघीय सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने गर्ने बताएको छ।

दुई प्रदेशको समन्वयबाट हुने जमुनाहा–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग निर्माण, कोहलपुर–सुर्खेत सडक विस्तार र कोहलपुर–बबई तथा बबई–छिन्चु सुरूङमार्ग सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्नुका साथै भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने सहमति भएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गरि काममा सहजता ल्याउने सहमति भएको छ।

दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान पहिचान गरि अगाडि बढने प्रतिबद्धता भएको मुख्यमन्त्री कँडेलले बताए।

विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट काम गर्नुका साथै लागुऔषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने साझा प्रतिबद्धता जनाइएको छ।

लुम्बिनीमा आउने धार्मिक पर्यटकहरूलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने बताएको छ।

दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरि काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

दुवै प्रदेशको सिमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गरि काम गर्ने उल्लेख गरिएको छ। प्रदेशका सीमा क्षेत्रनजिकका सडक, पुलजस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गरि कामलाई तीव्रता दिने बताएको छ।

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका-१ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका-५ को साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न संघीय सरकारसमक्ष अनुरोध गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्नुका साथै सडक यातायात दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने गर्न पहल गर्ने बताइएको छ।

कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच कायम राख्ने बताइएको छ। लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने सहमति भएको छ।

दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य हुने उल्लेख छ।

दुई प्रदेशका साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्द्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिँदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने सहमति भएको छ।

प्रकाशित मिति : १२ पुस २०८१ शुक्रबार ००:००  ५ : २० बजे