बिजुवार ।
लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई कफिको हवको रुपमा विकास गर्न पहल सुरु गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफि विकास कार्यालय, स्थानीय जनप्रतिनिधि तथा किसानहरुसंग प्रदेशका पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना धेरै भएकाले कफि हव बनाउने बारेमा बुधबार छलफल गरिएको हो ।
पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना रहेको र प्रदेश सरकारले यसकालागि पहल लिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले बताउनुभयो । योजना निर्माण गरेर कफि खेतिलाई विस्तार गरेर जानुपर्ने आवश्यकता छ, मन्त्री पन्थीले भन्नुभयो, पहाडी जिल्लाहरुमा कफि खेतिको सम्भावना, बजार र किसानहरुको जीवनस्तर उठाउने बारेमा सरकारले ध्यान दिन्छ ।
मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले कफि वोर्डको कार्यालय प्यूठानमा रहेको र त्यसले तिन वटा प्रदेश हेर्ने भएकाले कफि खेतिलाई लुम्बिनी प्रदेशका जिल्लाहरुमा विस्तार गर्ने बारेमा छलफल सकारात्मक भएको बताउनुभयो । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा कफि खेतिको सम्भावना धेरै राम्रो छ । कतिपय अवस्थामा खेति भइरहेको पनि छ, उहाँले भन्नुभयो, पहाडको एउटा जिल्लामा कम्तिमा दश रोपनीको दरले ६ जिल्लामा यसलाई विस्तार गर्ने बारेमा कुरा अघि बढेको छ ।
कफि खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने, यसको उत्पादन बढाउन सके अन्तर्राष्ट्रिय बजार पनि राम्रो भएकाले यसमा किसानलाई अनिवार्य जोड्ने बारेमा पहल गरिएको हो । सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले आफ्नो पालिका दलहनबाली र मह उत्पादनको हवको रुपमा रहेको र अझ गुणस्तरीय उत्पादनकालागि प्रदेश सरकारको साथ सहयोग चाहिएको बताउनुभयो ।
चिया तथा कफी विकास कार्यालय बडडाँडाका प्रमुख चन्द्रप्रकाश बस्नेतले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन वटा प्रदेश हेर्नेगरी २०७२ सालमा कार्यालय स्थापना भएको जानकारी दिनुभयो । बजेट र जनशक्ति अभाव भोग्नुपरेको समस्या राख्दै कफि खेती बिस्तारकालागि प्रदेश र स्थानीय सरकारको साथ आवश्यक पर्ने बताउनुभयो ।
कृषि मन्त्री पन्थी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. राउत लगायतले सरुमारानी गाउँपालिकाका अध्यक्ष विश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, कफि विकास वोर्डका प्रमुख चन्द्रप्रकाश बस्नेत र स्थानीय किसानसँग छलफल गरेका हुन् ।
प्रतिक्रिया