काठमाडौं ।
लोकसेवा परीक्षामा पटक–पटक असफल भएपछि मिलन आचार्यले बाबु र भाइको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । कुलप्रसादका जेठा छोरा २६ वर्षीय मिलन आचार्य ०७३ देखि लोकसेवा तयारीमा थिए । परीक्षामा पटक–पटक असफल भएपछि उनी मानसिक तनावमा थिए । त्यसको प्रतिक्रियामा उनले जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख रहेका बुवा कुलप्रसाद र आफ्नै भाइ प्रवीणको हत्या गरेको खुलेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले कुलप्रसाद बाबु–छोराको हत्या लोकसेवा परीक्षामा असफलतासँग जोडिएको बताए । ‘कुलप्रसादका जेठा छोरा मिलन ०७३ देखि लोकसेवाको परीक्षामा समेल हुँदै आएको देखिन्छ । यस क्रममा उनी नायब सुब्बामा ६ र अधिकृतको परीक्षामा एकपटक सहभागी भएको देखिन्छ,’ उनले भने, ‘पटक–पटक असफल भएपछि उनी तनावमा रहेछन् । सोही तनावपछि उनले बुवा र भाइको हत्या गरेजस्तो देखिन्छ । हामीसँगको बयानमा पनि उनले त्यही भनेका छन् ।’
प्रहरीका अनुसार मिलन ०७४ देखि लोकसेवाको परीक्षा दिन भन्दै काठमाडौं आएका थिए । उनी तीन वर्षदेखि भक्तपुरमा डेरा लिएर बस्दै आएका थिए । बेरोजगार उनी आवश्यक सबै खर्च घरबाटै ल्याउँथे । केही वर्षदेखि भाइ प्रवीणसँग बस्दै आएका उनले मीनभवन क्याम्पसबाट बिबिएस सकेका थिए । जागिर सुरु गर्न उनलाई घरको ठुलो दबाब थियो ।
शुक्रबार खोटाङबाट आएका बुवा कुलप्रसादसँग जागिरकै सम्बन्धमा राति अबेरसम्म विवाद भयो । विवादपछि बुबा कुलप्रसाद र भाइ प्रवीण निदाए । तर, मिलन निदाउन सकेनन् ।
प्रहरीलाई दिएको बयानअनुसार बिहान करिब ५ः३० बजे मिलन ओछ्यानबाट उठे । जिम गर्न कोठामा राखेको डमबेल उठाए । र, सुतिरहेका बुबालाई प्रहार गरे । चोटका कारण उनको मृत्यु भयो ।
बुबाको प्रतिक्रिया नआएपछि सिलौटो लिएर उनी भाइ प्रवीणकहाँ पुगे । उनको पनि टाउकोमा प्रहार गरे । दुवैको मृत्यु भएको निश्चित भएपछि उनी आत्महत्या गर्न कोठाबाट बाहिरिए । भक्तपुरकै बिरुवा डाँडा पुगेर उनी मफलरले रुखमा झुन्डिन खोजे । तर, असफल भएपछि उनी फर्किए । तनावपछि काठमाडौंमा नै हिँडिरहेका उनलाई प्रहरीले महाराजगन्जबाट मंगलबार पक्राउ गर्यो ।
घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले मानसिक तनावपछि मिलनले बुवा र भाइको हत्या गरेजस्तो देखिएको बताए । ‘उनी लोकसेवाको तयारीमा रहेछन् । तर, पटक–पटक असफल भएको रहेछ । सोही तनावपछि उसले बुवा र भाइको हत्या गरेजस्तो देखिन्छ,’ उनले भने ।
प्रतिक्रिया