वालिङ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कालीगण्डकी–३ को बिर्घा–मिर्मी पक्की भित्री सडक खण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परी बाराको गढीमाई नगरपालिका–११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ। अन्सारीलाई ट्याक्टरले च्यापेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिए।
सिरक–डसना बनाउने मेसिन जोडेको ट्याक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह र कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भिर घाइते छन्। दुबै जनाको कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ। गढीमाई नगरपालिका–११ का १४ वर्षीय सिकिन्दर यादब भने सकुशल रहेका छन्।
प्रतिक्रिया