काठमाडौं ।
जनता प्रगतिशील पार्टी, नेपालले विभिन्न राजनीतिक दलसँग सहकार्यका लागि वार्ता टोली गठन गरेको छ ।
पार्टी अध्यक्ष हृदयश त्रिपाठीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भएको अवस्थामा दलहरूबीच सहकार्यको आवश्यकता औँल्याउँदै पार्टीले वार्ता टोली गठन गरेको जानकारी दिएका छन् ।
पार्टीका नेता डा शिवजी यादवको संयोजकत्वमा पूर्वमन्त्री ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ, यो गति निरन्तर ह्रासोन्मुख छ । ग्रामीण जनजीवन आक्रान्त छ । जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्यता बढ्दो छ,’ अध्यक्ष त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ । तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायत दलहरूलाई सहकार्य गर्न अनुरोध गर्दछौँ ।’
प्रतिक्रिया