दाङ ।
जमिनमुनिबाट सुन निकालिदिने प्रलोभनमा पारेर दुई करोड ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका हुन्।
हलवाईले सुन निकालेर दिने प्रलोभनमा पारेर बेहेनाबाट पटकपटक गरी करिब दुई करोड ठगी गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी आयुशप्रशाद जोशीले जानकारी दिएका छन्।
इँटाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनेर पटकपटक गरी दुई करोड ठगी गरेको भन्दै परेको जाहेरीका आधारमा हलवाइलाई पक्राउ गरिएको डिएसपी जोशीले बताएका छन्।
बेहेनाले मंसिर १५ गते हलवाईविरूद्ध प्रहरीमा जोहरी दिएका थिए। आरोपितलाई खोजी गर्ने क्रममा प्रहरीले हलवाइलाई पुस ५ गते बिहान नेपालगञ्ज वडा नम्बर ४ स्थित बसपार्कबाट पक्राउ गरेको थियो। पक्राउ परेका हलवाइलाई चार दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी जोशीले बताए।
पक्राउ परेका हलवाईबाट तीनवटा माटाको घैंटाहरू र तीभित्र धातुले बनेका सिक्का एक हजार ४९ वटा सिक्का, तीनवटा पित्तलको घैंटाहरू, धातुले बनेको पुरानो सिक्री, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकारका ६ सय पत्थरहरू, धातुका डिब्बा तीनवटा, छालाको कालो रंगको झोलभित्र ताबिजसहितको बट्टा, उर्दू भाषामा लेखिएको एउटा किताब, भारतीय नम्बर प्लेट यूपी ३२ पिपी ६११० नम्बरको कार र नेपाल र भारतका विभिन्न बैंकका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका हलवाईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
सुन सफा गरिदिने बाहनामा ठगी गर्ने पक्राउ
यसैबीच पाल्पामा एक वृद्धाको सुन सफा गरिदिने बाहानामा ठगी गरी भागेको अभियोगमा चार जना पक्राउ परेका छन्।
जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ की ७८ वर्षीया डिलकुमारी बगाले पुस ६ गते घरमा एक्लै रहेको अवस्थामा फेला पारी अपरिचत व्यक्तिहरुले सुन सफा गरी नयाँ बनाइ दिने बाहानामा कानका दुई वटा रिङ निकालेका थिए। उनीहरूले सुन जस्तै देखिने नक्कली गहना दिएर भागी फरार भएका थिए।
वृद्धालाई झुक्याएर ठगी गरेको सूचना पाएपछि प्रहरी चौकी बल्ढेङगढीबाट खटिएको प्रहरीले रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ तल्लो काउलेबाट चार जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा रौतहट जिल्लाको ईशनाथ गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय अनीलकुमार साह, २१ वर्षीय आशिक साह, २१ वर्षकै राकेश साह र २१ वर्षकै कृष्ण साह पक्राउ परेका छन्।
पाल्पाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनील मल्लका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया