७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

के हाम्रो शरीर प्लास्टिकका स-साना टुक्राहरूले भरिँदैछ ?



एजेन्सी ।
साँच्चीकै सोच्दा पनि डर लाग्ने एउटा तथ्य हालैका दिनमा वैज्ञानिकहरुले सोध गरेका छन्। साना प्लास्टिकका टुक्राहरु हाम्रो शरीरभित्र बगिरहेका र यी शरीरका कोष तथा अङ्गहरुका लागि नयाँ पाहुनाका रुपमा भित्रिरहेको तथ्य सार्वजानिक गरिएको छ।

भर्खरै प्रकाशित नयाँ अनुसन्धानहरूले माइक्रोप्लास्टिक र अझ साना न्यानोप्लास्टिकले हाम्रो शरीरका गहिरा भागहरूसम्म कसरी पहुँच बनाएका छन् भन्ने स्पष्ट चित्र प्रस्तुत गरेको छ। फोक्सो, कलेजो, मुटु, आन्द्रा र मस्तिष्कदेखि अण्डकोष र गर्भनालसम्म कुनै पनि भाग सुरक्षित नरहेको अध्ययनले देखाएको छ।

यी अनुसन्धानहरुले स-साना टुक्राहरुले हाम्रो दैनिक जीवनमा कसरी प्रवेश गर्छन् भन्ने कुरामा ठूलो ध्यान केन्द्रित गरेको छ। समुद्र, नदी र जलचरमा लामो समयदेखि अध्ययन गरिँदै आएकोमा, अहिले शोधकर्ताहरुले मानव स्वास्थ्यतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन्।

दश वर्षअघिसम्म हेदर लेस्लीले यो क्षेत्रमा आफ्नो अनुसन्धानको लागि प्रयास गर्दा आवश्यक वित्तीय सहयोग दिन कोही तयार पाउने अवस्था थिएन। कसैले यस्तो कुरा पत्याउने र अनुसन्धानको विषय मान्ने अवस्था थिएन्।

लेस्ली भन्छिन् ‘यो विषयलाई कसैले छुनै चाहँदैन जस्तो लाग्थ्यो।’ नेदरल्यान्ड्सकी माइक्रोप्लास्टिक अनुसन्धानकर्ता लेस्ली, जसको टोलीले केही वर्षअघि पहिलो पटक मानवीय रगतमा ‘प्लास्टिकका’ कणहरु पत्ता लगाएको थियो।

जति यो कामले गति लिएको छ, उति नै माइक्रोप्लास्टिकले हाम्रो शरीरभित्र पुर्‍याउने क्षतिको विषयमा प्रश्नहरु उठ्न थालेका छन्। शोधकर्ताहरुले ठोस निस्कर्ष निकाल्ने हतार गरेका छैनन्। किनभने यो क्षेत्रको अनुसन्धानलाई अहिले पनि ‘प्रारम्भिक चरणमा’ मात्र रहेको लेस्लीको भनाइ छ।

तर, चिन्ताका विषयहरू देखिएको अध्ययनले देखाएको छ। माइक्रोप्लास्टिकले मानव प्रजनन, पाचन र श्वासप्रश्वास प्रणालीलाई क्षति पुर्‍याउन सक्ने आशंका गरिएको छ, साथै यसले पेट र फोक्सोको क्यान्सरसँग सम्भावित सम्बन्ध राख्न सक्ने पनि प्रारम्भिक चरणमा देखिएको छ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोको प्रजनन स्वास्थ्य र वातावरण कार्यक्रमकी निर्देशक तथा अध्ययनकी वरिष्ठ लेखक ट्रेसी वुडरफ प्रारम्भिक संकेतहरुलाई गम्भिर भएको बताउँछिन्। उनी भन्छिन् ”यो संकेत हो कि हामीले अहिले नै यो विषयमा गम्भिर कदम चाल्नुपर्ने समय आएको छ।’

ओरेगन स्टेट युनिभर्सिटीकी इकोटक्सिकोलोजिस्ट सुजाने ब्रान्डरका अनुसार, ‘अत्यधिक डर सिर्जना गर्नु उपयोगी हुँदैन’ तर उनी सहमत छिन् कि स्वास्थ्य जोखिमबारे पर्याप्त जानकारी भएकोले प्लास्टिक उत्पादनमा नियन्त्रणका लागि ठोस परिवर्तन र विश्वव्यापी सम्झौताका लागि दबाब दिनुपर्ने बेला भएको छ।

हाम्रो शरीरभित्र वास्तवमै कुन-कुन माइक्रोप्लास्टिक रहेका छन्रु

हाम्रो माटो, पिउने पानी, खाद्य स्रोत र सास फेर्ने हावामा माइक्रोप्लास्टिक पाइन्छ। १ न्यानोमिटरदेखि ५ मिलिमिटर आकारसम्मका यी प्लास्टिकका कणहरुलाई माइक्रोप्लास्टिक भनेर परिभाषित गरिन्छ। केही कण वातावरणमा वर्षौंदेखि जम्मा भएका छन् भने केही दैनिक रूपमा देखिन्छन् टायर, लुगा, खाद्य प्याकेजिङ, व्यक्तिगत हेरचाह सामग्री र अन्य स्रोतबाट समेत हाम्रो दैनिक जीवनमा यसको प्रभाव अत्याधिक छ।

“प्लास्टिक सायद मानव जीवनमा सबैभन्दा ठूलो र निरन्तर भइरहने जोखिम हो, जुन हाम्रो र हाम्रा अभिभावकहरुको जीवनभर चलिरहेको छ।’ इमोरी युनिभर्सिटी, रोलिन्स स्कूल अफ पब्लिक हेल्थका वातावरणीय स्वास्थ्यका प्राध्यापक डगलस वाकरको तर्क छ।

यी कणहरु विविध र जटिल प्रकारका हुन्छन्, जसले तिनको अध्ययनलाई चुनौतीपूर्ण बनाउँछ। तिनको आकार, बनावट, पॉलिमरको प्रकार र रासायनिक संरचनाले हाम्रो शरीरमा तिनको संचित हुने प्रक्रिया र सम्भावित स्वास्थ्य प्रभावमा फरक पार्न सक्ने उनको बुझाइ छ।

लेस्ली ‘एउटै माइक्रोप्लास्टिक पनि ‘विश्लेषणात्मक दुःस्वप्न’ का रुपमा मान्छिन्। उनी भन्छिन् ‘त्यसैले यति व्यापक प्रदूषकहरूमाथि ठोस बयान दिन निकै कठिन छ।’ वाकरका अनुसार वैज्ञानिकहरु अझै पनि मानव शरीरभित्र माइक्रोप्लास्टिकको सही मापन कसरी गर्ने भन्ने प्रयासमा रहेका छन्।

वैज्ञानिकहरूले माइक्रोप्लास्टिकलाई छुट्याएर मानव कोषबाट निकाल्न र तिनका तस्बिर खिच्न सक्छन्, तर ती शरीरभित्र कहाँ-कहाँ छन् भन्ने स्पष्ट रूपमा देख्न अझै ‘ठूलो चुनौती’ रहेको क्याम्पेन बताउँछन्।

शरीरभित्र पसेपछि, के यी कण कहिले बाहिर निस्कन्छन् ?

कल्पना गर्नुस्, यदि तपाईंको शरिर भित्रका हरेक अङ्गमा प्लास्टिक छ यि निस्कन तयार भए भने पनि कति समय लाग्लारु वा, के तिनीहरू कहिल्यै पूर्ण रूपमा बाहिर जान्छन्रु यो सोच परीक्षण वास्तविक जीवनमा सम्भव छैन, किनभने प्लास्टिक प्रदूषण यति व्यापक छकि यस्लाई बाहिर ल्याउने कल्पना मिथ्या हुन सक्छ।

लेस्ली भन्छिन्, हामी सबैलाई दिनरात माइक्रोप्लास्टिकको ‘साना मात्रा’मा सामना भइरहेको छ, जसका कारण कति कण भित्र गइरहेको छ र कति बाहिर निस्किरहेको छ भन्ने व्यवस्थित रूपमा पत्ता लगाउन गाह्रो छ। हाम्रो शरीरले यो कचरा सफा गर्न निकै राम्रो काम गरिरहेको भए पनि निरन्तर सम्पर्कले यो लडाइँ गुम्दै गएको मानिन्छ।

अनुसन्धानहरूले हाम्रो दिसा र पिसाबमा माइक्रोप्लास्टिक पत्ता लगाएका छन्। जोआना प्राटाका अनुसार जनावरहरूमाथि गरिएको अध्ययनले देखाउँछ कि हामीले निल्ने वा सास फेर्ने धेरैजसो कणहरू शौचालयको यात्रामा शरीरबाट बाहिर जान्छन्।

‘केवल थोरै मात्र शरीरले सोस्छ’ भन्छिन् प्राटा, जो पोर्चुगलको युनिभर्सिटी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस-सिइएसपीयूकी सहायक प्राध्यापक हुन्। तर अझै धेरै कुरा स्पष्ट भइनसकेको उनको बुझाइ छ।

माइक्रोप्लास्टिक हाम्रो शरीरभित्र पुगेपछि के गर्छन् ?

माइक्रोप्लास्टिक हाम्रो शरीरभित्र पुगेपछि प्रायः सिधै बाहिर निस्कने गर्दैनन्। केही कणहरू हाम्रो आन्द्राको पातलो झिल्ली पार गर्दै रगतमा पुग्छन्। डा. प्राटा भन्छिन्, ‘ठूला कणहरूले जैविक अवरोध पार गर्ने सम्भावना कम हुन्छ, तर यो कहिल्यै पार गर्दैन भन्ने भन्न सकिँदैन। केवल यो कम सम्भावित छ भन्ने भन्न सकिन्छ।’ कणको आकार मात्र होइन, यसको आकृतिले पनि असर पार्न सक्छ। उदाहरणका लागि, लामो र पातलो माइक्रोफाइबरले हाम्रो आन्द्राको झिल्ली सजिलै पार गर्न सक्छ।

हावामा पाइने माइक्रोप्लास्टिक- विशेष गरी घरभित्रबाटै या भान्साबाटै शरीरमा प्रवेश गर्न सक्छ। ठूला कणहरू केही हदसम्म नाक वा खोकीमार्फत बाहिर निकालिन सक्छन्। तर, अति साना कणहरू (अल्ट्राफाइन पार्टिकल्स) फोक्सोको गहिरो भागसम्म पुग्न सक्छन् र त्यहाँबाट रगतमा प्रवेश गर्न सक्छन्। एकपटक रगतमा प्रवेश गरेपछि, माइक्रोप्लास्टिक र नैनोप्लास्टिक प्रोटिन र फ्याटले छोपिन्छन्, जसले तिनलाई ‘कोरोना’ जस्तो स्वरूप दिन्छ। यसपछि ती कणहरू शरीरभरि यात्रा गर्न थाल्छन्। यो यात्रा कहाँसम्म हुन्छ भन्ने स्पष्ट छैन। तर, जनावरमाथि गरिएको अध्ययनले देखाएको छ कि माइक्रोप्लास्टिक शरीरभरि अंगहरूमा, आमाको दूध, शुक्रकणजस्ता शारीरिक तरल पदार्थमा, र यहाँसम्म कि रक्त-मस्तिष्क अवरोध (ब्लड-ब्रेन ब्यारिअर) पनि पार गर्न सक्छ।

यी ‘परदेशी यात्रु’ हरूले शरीरको विभिन्न भागमा आफ्नो स्थान बनाउँछन्, जसको दीर्घकालीन असरबारे थप अनुसन्धान आवश्यक रहेको मानिएको छ। यी ठोस कणहरू भएका कारण तिनीहरू कुनै रासायनिक रूपान्तरणमा जाने सम्भावना अत्यन्तै कम मानिन्छ। यसलाई टुक्र्याउन गाह्रो हुने बताइएको छ।

हाम्रो प्रतिरक्षा प्रणालीले माइक्रोप्लास्टिकलाई अन्य परजीवीजस्तै सजिलै समाप्त गर्न सक्दैन। म्याक्रोफेज नामक प्रतिरक्षा कोषहरूले यी कणहरूमाथि आक्रमण गर्न एन्जाइमहरू प्रयोग गर्छन्, तर प्लास्टिक कणहरूमा कुनै असर पर्दैन। लेस्लीका अनुसार, ‘प्लास्टिक यथावत् रहन्छ र हाम्रो प्रतिरक्षा प्रणालीका लागि जिद्दी प्रतिद्वन्द्वी जस्तो बन्छ।’

के सूक्ष्म प्लास्टिकले हामीलाई हानी पुर्‍याउँदैछ ?

वैज्ञानिकहरूले यसबारे ठोस उत्तर फेला पार्न सकेका छैनन्। हामी आफ्नो जीवनकालभरि धेरै प्रदूषकहरूसँग सामना गर्छौं। र सूक्ष्म प्लास्टिक विश्लेषणका लागि सबैभन्दा उपयुक्त मोडेल पत्ता लगाउने काममा अनुसन्धानकर्ता अझै जुटिरहेका छन्। त्यसैले, धेरैजना उपलब्ध तथ्यांकभन्दा अगाडि बढेर निष्कर्ष निकाल्न सतर्क देखिन्छन्।

तर पनि, पछिल्ला केही अनुसन्धानले गम्भीर चेतावनीका संकेतहरू देखाएका छन्। ती अनुसन्धानले सूक्ष्म प्लास्टिकको जमावट र मानव स्वास्थ्य समस्याबीच सम्बन्ध देखाएका छन्, यद्यपि यी सीधा कारण-परिणामको प्रमाण होइनन्।

यस वर्षको सुरूमा इटालियन अनुसन्धानकर्ताहरूले गरेका एउटा अध्ययनले धेरै ध्यान खिच्यो। उक्त अध्ययनमा, धमनीका भित्तामा सूक्ष्म प्लास्टिक पाइएका व्यक्तिहरूलाई हृदयघात, स्ट्रोक वा मृत्यु हुने सम्भावना बढी हुने देखियो। केही साना अध्ययनहरूले भडकात्मक आन्द्रा रोग (इन्फ्लामेटरी बाउल डिजिज) र कलेजो रोग भएका व्यक्तिहरूमा सुक्ष्म प्लास्टिकको मात्रा उच्च हुने देखाएका छन्।

यसै साता युसीएसएफले प्रकाशित गरेको समीक्षा प्रतिवेदनमा पनि सूक्ष्म प्लास्टिक प्रजनन स्वास्थ्य र दीर्घकालीन साइनोसाइटिसजस्ता समस्याहरूसँग सम्बन्धित रहेको अवलोकनात्मक अनुसन्धान समावेश गरेको छ।

मुख्यतया, जनावरहरू वा कोषीय नमूनामा गरिएको प्रयोगशालाका अध्ययनहरूले सूक्ष्म प्लास्टिकले कोशिकीय र आणविक स्तरमा विषाक्त असर पुर्‍याउने देखाएका छन्।

लेस्लीका अनुसार अर्को चरण भनेको यो अनुसन्धानलाई व्यक्तिगत व्यक्ति वा सम्पूर्ण जनसंख्यामा स्वास्थ्य परिणामसँग कसरी जोड्न सकिन्छ भन्ने पत्ता लगाउनु हो।

यस अनुसन्धानले प्रजनन समस्याहरू, स्नायु प्रणालीका रोगहरू, चयापचय (मेटाबोलिज्म) र प्रतिरक्षा प्रणालीमा क्षति, र क्यान्सरको जोखिम बढाउने संकेतहरू जस्ता प्रभावहरूको सुझाव दिएको छ।

तर, यस्ता अध्ययनहरूबाट निस्कर्ष निकाल्ने क्रममा सीमितता हुन्छ। उदाहरणका लागि, प्रयोगशालामा जनावरहरूलाई दिइएका मात्रा मानिसले दैनिक जीवनमा भेट्टाउने सूक्ष्म प्लास्टिकको मात्रा भन्दा धेरै बढी हुन सक्छ र त्यसले वास्तविक परिस्थिति झल्काउन नपाउन सक्छ।

प्लास्टिकमा रहेका रसायन कति हानिकारक छन् ?

प्लास्टिकमा मिसाइने रसायनहरू अर्को प्रकारको जोखिमको रूपमा देखा परेका छन्। यी रसायनमध्ये केहीले हर्मोनमा अवरोध पुर्‍याउन सक्छन्, प्रजनन स्वास्थ्यमा असर गर्न सक्छन्, केही प्रकारका क्यान्सरको जोखिम बढाउन सक्छन्, र मोटोपाजस्ता चयापचयसम्बन्धी समस्या उत्पन्न गर्न सक्छन्। यस्ता प्रभावहरूले अन्य थुप्रै स्वास्थ्य समस्याहरू पनि निम्त्याउन सक्छन्।

वैज्ञानिकहरूले यो पनि चिन्ता व्यक्त गरेका छन् कि सूक्ष्म प्लास्टिकले दीर्घकालीन रूपमा शरीरभित्र प्लास्टिकसँग सम्बन्धित रसायनहरूका स्रोतका रूपमा काम गर्न सक्छ।

यद्यपि अझै धेरै कुरा स्पष्ट भएको छैन। सूक्ष्म प्लास्टिकसँगको सम्पर्क कम गर्न सामूहिक कदम चाल्न पर्याप्त प्रमाणहरू उपलब्ध छन्। यद्यपि यसले मानव स्वास्थ्यलाई कसरी जकडीरहेको छ भनेर प्रमाणित गर्नका लागि सिमित अनुसन्धान पर्याप्त मानिएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यका सामाग्रीहरूमा आधारित) देशसञ्चारबाट साभार

प्रकाशित मिति : ७ पुस २०८१ आइतबार ००:००  ११ : १३ बजे