७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

दाइकै टिमसँग हारेको भनेर जिस्काउँदा रिस उठेको थियो, उपाधि जितेपछि खुशी छु: आशिफ



काठमाण्डौ ।

एनपीएलको विजेता जनकपुर बोल्ट्सले यो प्रतियोगितामा सुदूरपश्चिम रोयल्ससँग दुई वटा खेल हारेको थियो । तर फाइनलमा भने जनकपुरले दुई पटकको हारको बदला लिएको छ । यी दुई प्रतिष्पर्धी टिममा दुई जना दाजुभाइ पनि थिए । सुदुरपश्चिम रोयल्सबाट दाइ आरिफ शेख र जनकपुर बोल्ट्सबाट भाइ आशिफ शेखले खेलेका थिए । एउटै घरका दाजुभाइ फरक टिमबाट खेल्दा घरमा रमाइलोसँगै तिक्तता पनि थियो ।

समूह चरणमा र पहिलो क्वालिफायरमा सुदूरपश्चिम अर्थात् आरिफ शेख रहेको टिमले आशिफ शेख रहेको टिमलाई हराएको थियो । फाइनलमा भने भाइ आशिफको टिमले दाइ आरिफको टिमलाई हराएर उपाधि जितेपछि पत्रकारले यो विषयमा आशिफलाई सोधेका थिए ।

पत्रकार सम्मेलनमा आशिफले भने, ‘परिवारको आँखाबाट हेर्दा र जसले जिते पनि ट्रफी घरमै जाँदैछ । तर टिमको आँखाबाट हेर्दा धेरै फरक पर्छ । हामीलाई जित्न जरुरी नै थियो । दाइको टिम सुदूरपश्चिमसँग हामी जनकपुरले दुईपटक हारिसकेका थियौँ । मैदानबाहिर पनि सबैले यस्तै प्रश्न सोधेर मलाइ गाह्रो बनाइरहनुभएको थियो । मलाई रिस पनि उठिरहेको थियो । अब भने मैले जितेको छु । अब म जिस्काउँछु होला ।’

प्रकाशित मिति : ७ पुस २०८१ आइतबार ००:००  ९ : ४९ बजे